बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

भन्सार छलेर ल्याइँदै गरेको विभिन्न सामग्री सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौँ – भन्सार छलेर भारतबाट ल्याइँदै गरेका विभन्न सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । देशका विभिन्न सीमा इलाकाबाट लुकाई छिपाई नेपाल भित्राइँदै गरेका ती सामग्री सशस्त्र प्रहरीले बरामद गरेको हो ।   

महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट आइतबार सशस्त्र प्रहरीले करिब दुई लाख ४१ हजार रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना, औषधी तथा मेशिनरी सामान बरामद गरेको छ । भारतबाट अबैध रूपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले ११ असोजमा करिब २ लाख ९७ हजार रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रूपले ल्याइँदै गरेको उक्त लत्ताकपडा कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चानदेउ सीमा इलाकाबाट बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका १६ इनरुवा सीमा इलाकाबाट ११ असोजमा करिब १ लाख ५ हजार रूपैयाँ बराबरको कस्मेटिक तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले बरामद गरेको छ । बरामद सामग्री भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।