सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

चौधरी ग्रुपले बुझायाे १४ अर्ब २८ करोड रुपैयाँ राजस्व

काठमाडौं - चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको जनाएको छ । गत बर्ष सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको ग्रुपले जनाएको छ ।

कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओह्रालो लागेर व्यापारिक कारोबारमा गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो।

‘कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ’, सांसद एवं ग्रुपका अध्यक्ष विनोद चौधरीलाई उद्धृत गर्दै चाैधरी ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विगत चार आर्थिक बर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड  रूपैयाँ योगदान गरेको उल्लेख गरेको छ । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तिय क्षेत्रसम्म लगानी गरेको छ । यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एकमात्र डलर अर्बपतिको सूचीमा परेका अर्बपति हुन ।

गत बर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सिजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए। स्वास्थ्य संकटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति श्रृंखलामा नराम्रो असर परेको थियो।

ग्रुपका अधिकारीहरूले लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको बताएका छन् । 

‘अर्को पक्षबाट हेर्दा यस्तो संकटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई अभाव व्यवस्थापनमा धेरै कुरा सिकाएको छ’, ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन् ।