मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर, सदस्यता नवीकरण असोज मसान्तसम्म थप

मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्णय

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी महाधिवेशनको कार्यतालिकामा हेरफेर गरेको छ । सोमबार बसेको केन्द्रीय स्थायी कमिटी बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गरेको हो ।

सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको र स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । उनकाअनुसार स्थानीय तहको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।

‘अहिलेको समसामयिक स्थितिहरूको बारेमा अध्यक्षले ब्रिफिङ लिनुभयो, मुख्य रूपमा पार्टीका आन्तरिक सम्मेलनको तयारी, स्थानीय तहको भेला गर्ने विषयमा छलफल भएको छ, स्थायी कमिटी सदस्य गुरुङले भने, 'पहिला भएको पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने, टोल भेलाहरू कार्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ, कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरूको सम्मेलन भन्ने कुरो छ, राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।

बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अबिलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्णय गरेको गुरुङले बताए। सदन अदालतसँग जोडिएको कानुनी जटिलता हेरेलगत्तै मन्त्रिमण्डल विस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए । , मन्त्रिपरिषद् बिस्तारको कुरा पाँच दलको टुंगो भएपछि हुन्छ, त्यसमा कानुनी जटिलता भएको कारणले सबै समस्यालाई पन्छाइसकेपछि मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा छ ।’