उदासिन सरकार : अफगानिस्तानमा रहेका ३४ नेपालीको उद्धार कहिले हुन्छ ?
'उद्धार गर्न रुट अनुमति र विमान कम्पनीहरूसँग कुराकानी भैरहेकाे छ'

काठमाडौँ- अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि करिब डेढ महिनामा ९ सय भन्दा बढी नेपाली कामदार स्वदेश फर्किसकेका छन् । अफगानिस्तानबाट खाडी लगायत विभिन्न मुलुकको रूट प्रयोग गरी ९ सय ६ नेपाली कामदार नेपाल आइसकेका छन् ।
साउनको अन्तिम सातादेखि अफगानिस्तानमा रहेका नेपाली कामदारलाई उद्धार गर्न थालेको थियो । सरकारले उद्धार कार्यदल गठन गरी त्यहाँ रहेका नेपालीको उद्धार कार्य थालनी गरेको थियो ।
तालिवानले सत्ता लिएपछि त्रास बढेकाले त्यहाँ रहेका अफगानी र विदेशी नागरिकले अफगानिस्तान छाड्ने क्रम बढेको हो । यसअघि दुई दशकसम्म अमेरिकी सेनाले शासन जमाएको सैन्य शक्तिले अफगानिस्तान छोडेपछि विद्रोही तालिवानीहरूले सत्तामा हातमा लिएकाका छन् ।
अफगानिस्तानको मुख्य-मुख्य सहरमा तालिवानले कब्जा जमाउन थालेपछि त्यहाँका नागरिकहरू विभिन्न मुलुक गएका छन् । त्यहाँ काम गर्न गएका नेपाली कामदार पनि स्वदेश फर्केका छन् । केही कामदार भने अझैसम्म उद्धारको पर्खाइमा छन् । सरकारको उदासिनताले उद्धार हुन बाँकी नागरिक फर्कने मिति निश्चय भइसकेकाे छैन ।
परराष्ट्र मन्त्रालयका अनुसार हाल अफगानिस्तानमा ३४ नेपाली नागरिक उद्धारको पर्खाइमा छन् । रोजगारदाता कम्पनीसँग सरकारले समन्वय गरी ल्याउने प्रयास गरिरहेको मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले बताए । अफगानिस्तानमा ३४ नेपाली कामदार उद्धारको पर्खाइमा रहेको उनले जानकारी दिए ।
सरकारले बाँकी रहेका नेपाली कामदारलाई कुन रुटबाट ल्याउने त्यसको खोजी गरिरहेको छ । रोजगारदाता कम्पनी र नेपाल सरकारले समन्वय गरिरहेका छन् । यसअघि कतार तथा बेलायतबाट नेपाली कामदारहरूकाे उद्धार गरिएकाे थियाे ।
अफगानिस्तानमा रहेका बाँकी रहेका नेपाली कामदारलाई उद्धार गर्न आवश्यक समन्वय भइरहेको घिमिरेले इकागजलाई जानकारी दिए । उनका अनुसार, दिल्लीस्थित नेपाली दूतावासले पनि बाँकी रहेका कामदारलाई कसरी उद्धार गर्न सकिन्छ त्यस विषयमा समन्वय गरिरहेको छ ।
'उद्धार गर्न नियमित छलफल र समन्वयमा छौ'
दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख रामप्रसाद सुवेदीका अनुसार विभिन्नमुलुकको बाटो प्रयोग गरी अलपत्र अवस्थामा रहेका र उद्धार गर्न बाँकी ३४ जना नेपाली मात्र छन् । संयुक्त राष्ट्रसंघको शान्ति सुरक्षा मिसन र युनिसेफ अफगानिस्तानको कार्यालयमा उनीहरूलाई सुरक्षितसँग राखिएको उनले बताए ।
सुवेदीकाअनुसार हिजो ( शनिबार ) उद्धार गर्ने मिति तय भएको थियो तर, विविध कारणले उद्धार हुन सकेन । 'यहीँ मितिमा उद्धार गर्न सकिने भनेर भन्न सकिने अवस्था छैन,' उनले भने,' उद्धारका लागि हामीले विभिन्न निकायसँग छलफल र समन्वय गरिरहेका छौ ।'
अफगानिस्तानमा बाँकी रहेका नेपालीलाई आगामी हप्तासम्म उद्धार गरी काठमाडौँ उतार्ने प्रयास भइरहेको सुवेदीको भनाइ छ । अफगानिस्तानबाट नेपालीहरूको उद्धार गर्न रुट अनुमतिका लागि पहल भैरहेकाे छ । काबुलदेखि दोहा, काबुलदेखि दिल्ली र काबुलबाट काठमाडौँको रूटलाई सम्भाव्य मानिएकाे छ ।
गैरकानुनी रुपमा प्रवेश गरेका नेपाली कामदारहरू मात्र उद्धारको पर्खाइमा रहेको सुवेदीले बताए । अफगानिस्तानको शान्ति मिसनको कार्यालयमा कार्यरत नेपालीहरू भने सुरक्षित रहेका छन् । शान्ति मिसनको कार्यालयमा ४ सय बढी नेपाली कामदार छन् । ४३ जना नेपाली बिदामा स्वदेश गएका छन् । अन्य सय जना नेपाली उद्धारको समयमा स्वेदश फर्किसकेका छन् । त्यहाँ कार्यरत नेपालीहरू भारतीय र नेपाली सेनामा काम गरेका छन् ।
यसअघि धेरै नेपालीहरू जर्मन, बेलायत, क्यानडा, अमेरिका र जापान दूतावासको समन्वयमा स्वदेश फर्किसकेको सुवेदीले जानकारी दिए । 'अफगानिस्तानको विमानस्थल चालु अवस्थामा नरहेकाले तत्कालै उद्धारमा कठिनाई भएको हो,' उनले भने ।
कतार एयरवेजले आफ्नो प्राविधिक खटाएर उडान गरिरहेको सुवेदीले जानकारी दिए । चार्टड उडान गरेर सहजै ल्याउने अवस्था छैन । अहिले चार वायुसेवा कम्पनीको जहाजले उडान भरिरहेका छन् । कतार, इरान, ओमन र अफगानिस्तानको जहाजले उडान भरिरहेका छन् । विमानस्थल सहज रूपमा सञ्चालनमा हुन नसक्दा व्यवसायिक उडान नभएको उनको भनाइ छ ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया