मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही

मुलुकका लाखौँ विद्यार्थीको पक्षमा निरन्‍तर संघर्ष गर्छौँ : अध्‍यक्ष शाही

काठमाडौँ - नेत्रविक्रम चन्‍द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्‍पन्‍न २२औँ राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्‍वत् अध्यक्षमा निर्वाचित गरेको हो ।

१०५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर पदाधिकारीमा निर्वाचित भएका छन् । केन्‍द्रीय समितिमा २० जना महिला रहेको क्रान्‍तिकारीले जनाएको छ । 

सम्मेलनले निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालसहितका ३० भन्दा बढी विद्यार्थीलाई सङ्गठनबाट बिदा गरेको छ । बिदा हुने विद्यार्थी नेतामा निवर्तमान अध्यक्ष ढकालसहित वीरेन्द्र विक, कमल बडुवाल, झलक विक, मुकुन्द श्रेष्ठ, डा. प्रकश चन्द, सुमन तिमल्सिना, दिनेश सारु, ममता रुचाललगायत छन् ।

पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्‍वकर्माले नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यहरूलाई बधाइ दिँदै र पुरानालाई बिदाइ गरेका हुन् । उनले विद्यार्थी संगठनबाट बिदा भएकाहरूलाई पार्टीले अन्य महत्वपूर्ण जिम्मेवारी दिने जानकारी गराएका थिए ।

मुलुकका लाखौँ विद्यार्थीको पक्षमा निरन्‍तर संघर्ष गर्छौँ : अध्‍यक्ष शाही : अध्‍यक्ष शाही

नव निर्वाचित अध्‍यक्ष शाहीले मुलुकका लाखौँ लाख विद्यार्थीको शिक्षाको ग्यारेन्टी गर्ने आफूहरूको मुख्‍य दायित्‍व हुने बताए । निःशुल्क, सर्वसुलभ र अनिवार्य शिक्षाको लागि निरन्‍तर संघर्ष गर्ने उनको भनाइ छ । 'नेपालको विद्यार्थी आन्दोलनको मूल प्रभाव निर्वाचित भएर आइसकेपछि हाम्रो मुख्य दायित्व भनेको मुलुकका ९० लाख विद्यार्थीको शिक्षाको ग्यारेन्टी गर्ने कुरामा हुन्‍छ,' उनले भने, 'निःशुल्क, सर्वसुलभ र अनिवार्य शिक्षाको लागि हाम्रो संघर्ष हुन्छ ।'

विद्यार्थीको हक हितसँगै राष्ट्रियता, जनजिविकाका र सामाजिक न्यायका विषयमा पनि आफूहरू निरन्‍तर लड्ने उनले बताए । नेपालका सबै न्‍यायपूर्ण आन्‍दोलनमा जनताका साथमा आफूहरूको सधैँ सहभागिता रहने उनको भनाइ  । वर्तमान सत्‍ताले जनतामाथि गरेको अन्‍याय र अत्याचारविरुद्ध जनतालाई संगठित गर्ने र त्‍यसविरुद्ध संघर्ष गर्ने उनले दोहोर्‍याए । 'भ्रष्टाचारविरुद्धको आन्‍दोलनमा नेतृत्व लिने काम हुन्छ । त्यसविरुद्ध आन्दोलन गर्ने कुरा हुन्छ,' उनले भने, ' अहिलेको दलाल संसदीय व्‍यवस्था र यसका सन्‍चालकहरूले जनतामाथि जुन अन्याय र अत्याचार गरेका छन् । त्यसविरुद्ध जनतालाई संगठित गरेर जागरण पैदा गर्ने र संघर्ष गर्ने काम हुन्‍छ । नेपालका सबै न्यायपूर्ण आन्दोलनमा जनताको पक्षमा सहभागी हुन्‍छौँ ।'

पार्टी अधिनस्‍त भइसकेपछि पार्टीका नीति र कार्यक्रमका आधारमा निकट भएर सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । अहिले मूल धारमा रहेका पार्टी र तिनका संगठनको जस्‍तो अन्‍धभक्‍त नभएर नीति र कार्यक्रममा आधारमा रचनात्मक/आलोचनात्‍मक सुझाव/सल्‍लाह र सहयोग गर्ने उनले बताए ।