सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

टुटफुट व्‍यहाेरे पनि एमाले एकताको प्रतीक हाे : योगेश भट्टराई

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेले विभिन्न कालखण्डमा टुटफुटको सामना गर्नु दुःखद् रहेको पार्टी केन्द्रीय सदस्यहरूको धारणा छ । पार्टीको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरूले यस्तो धारणा राखेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘०५४ सालमा र अहिले भर्खरै एमालेले टुटफुटको सामना गर्नु परेको छ, यो दुःखद् हो । तर एमाले एकताको प्रतीक हो, एकता नै एमालेको बल हो,’ बैठकमा सदस्यहरूले राखेको धारणा र प्राप्त सुझावबारे जानकारी दिँदै उनले भने, ‘स्थानीय, प्रदेश र प्रतिनिधि सभाको आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी सम्पूर्ण शक्ति एकताबद्ध हुनुपर्छ भन्ने सुझाव आएको छ ।’ उनका अनुसार छलफलमा नेताहरूले पार्टीमा युवा, महिला, आदिवासी जनजाति, महिला, मधेसीलगायतको सहभागिता बढाउन सदस्यहरूले माग गरेका छन् । 

१५–१७ असोजमा हुन गइरहेको एमालेको विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमा छलफल र सदस्यबाट सुझावका लागि शुक्रबार र शनिबार पार्टी केन्द्रीय कमिटीको बैठक बसेको हो । प्राप्त सुझावबारे अध्यक्ष ओलीसहित दस्तावेज प्रस्तुतकर्ताले आइतबार बिहान ११ बजे बस्ने बैठकमा जवाफ दिने पनि उनले बताए ।