बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

काठमाडौँमा पानीको स्रोत जोगाउन जुट्यो महानगर

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकासेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका छन् ।

सोही क्रममा कामपाका प्रमुख शाक्यले ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको बताए । 

“अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट्यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने अपेक्षा भएको बताए ।  

महानगरको वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभर्टरमा पठाइने बताए ।

जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहरसहितको पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी ट्याङ्क हुँदै एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट््याङ्कीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, चार मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट््याङ्की बनाइनेछ । 

उक्त पुनःभरण प्रणालीका विषयमा जानकारी थप्दै उनी भन्छन्, “ट्यांकी भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमिनमुनि पठाइन्छ । यो रिङमा सानाठूला रोडा र बालुवाको तह बनाइएको हुन्छ ।” यो प्रणाली करिब रु ११ लाख २० हजारमा निर्माण हुन लागेको हो । 

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्दै यसअघि कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनःभरण प्रणाली सुरु गरेको  जानकारी दिए ।