बुढ्यौलीमा अक्षर चिन्दै ज्येष्ठ नागरिक
दमौली - तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नामसमेत लेख्न जान्दैन थिए । नाम लेख्नपरे अरूको सहारा लिने गर्थे । ६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो । तर गत वर्षदेखि उनी आफ्नो नाम आफैँ लेख्न सक्ने भएका छन् ।
रोटरी क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासले सञ्चालन गरेको सिकाइको उमेर हुँदैन अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएका हुन् । चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेकी उनले भनिन्, “पहिला पढ्न पाइएन, नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो ।”
सोही ठाउँ निवासी नानुमाया श्रेष्ठले सामान्य अक्षर चिन्छन् । क्लबले सञ्चालन गरेको प्रौढ कक्षामा सहभागी भएपछि थप जान्ने अवसर मिलेको श्रेष्ठले बताए । “उमेर हुँदा पढ्ने अवसर पाइएन, अहिले बुढ्यौलीमा भए पनि अक्षर चिन्ने अवसर पाउँदा एकदमै खुसी लागेको छ,” श्रेष्ठले भने ।
इनरह्विल क्लब अफ दमौलीकी पूर्वअध्यक्ष एवं आश्रमकी सचिव निर्मला मल्लका अनुसार गत असोज २ देखि ८ गतेसम्म सञ्चालित प्रौढ कक्षामा १२ महिला प्रशिक्षित भएका छन् । “फुर्सदको समयमा ज्ञानका कुरा सिक्न पाउँदा आमाहरु हर्षित हुनुभएको छ,” उनले भने ।
क्लबले गत वर्ष पनि प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यो बेला दश जनाले सहभागिता जनाएका थिए । यो अभियानलाई प्रत्येक वर्ष सञ्चालन गरिने रोट्रयाक्ट क्लब वेदव्यासकी पूर्वअध्यक्ष सञ्जु घलेले जानकारी दिए ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया