कैलालीमा पाँच दशकदेखि लालपुर्जाविहीन

कैलाली- कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन् । सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन् ।
कैलारी गाउँपालिकाका मोहनपुर, हौसलपुर र शिवरत्नपुरका २०० भन्दा बढी परिवारले जग्गाधनी प्रमाणपत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ । लालपुर्जा नहुँदा सीमावर्ती गाउँका स्थानीयवासीलाई सरकारले कृषिमा दिने अनुदान र सहयोग लिन समस्या भएको उनीहरुको गुनासो छ । ती तीनै गाउँका स्थानीयवासी कोहीसँग पनि आफूले वर्षौंदेखि उपभोग गरिरहेको जग्गाको लालपुर्जा छैन ।
सरकारले लालपुर्जा नदिँदा सुकुम्बासी जस्तै भएर बस्नु परिरहेको स्थानीयवासीको गुनासो छ । लालपुर्जा पाउन पटक-पटक सरकारका विभिन्न निकायमा धाए पनि प्राप्त गर्न नसकेको कैलारी गाउँपालिका-७ मोहनपुरका विष्णु चौधरीले बताए । लालपुर्जा नहुँदा बैंक, सहकारीलगायत वित्तीय संस्थामा जग्गा धितो राखेर कारोबार गर्न नपाएको उनको भनाइ छ । 'कृषि अनुदानका लागि सरकारी निकायले लालपुर्जा खोज्छ, हामीसँग छैन,' चौधरीले भने । सीमा नाकामा बसेर नेपाली भूमि अतिक्रमण हुनबाट जोगिए पनि लालपुर्जा नहुँदा सरकारबाट हेपिएको उनीहरुले महसुस गरेका छन् । 'बस्ती नभएको भए जग्गा भारतले अतिक्रमण गर्ने खतरा थियो,' उनले भने ।
सीमा क्षेत्रमा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) र वन रक्षकले बेलाबेलामा गाउँमा आएर दुःख दिने गरेका स्थानीयवासी बताउँछन् । लालपुर्जा दिनुपर्ने माग गर्दै गाउँपालिका, मालपोत कार्यालय, सुकुम्बासी आयोगलगायत निकायमा धाउँदा पनि सुनुवाइ नभएको कैलारी गाउँपालिका-५ शिवरत्नपुरका भल्मन्सा राजु चौधरीले बताए । उनले भने, 'सरकारले हामीलाई विकास होइन, पहिला लालपुर्जा दिनुपर्छ ।'
स्थानीयवासीलाई लालपुर्जा वितरण गर्न जरुरी भएको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउँछन् । सरकारले आफ्नै नागरिकलाई लालपुर्जाविहीन बनाउन नहुने उनको धारणा छ । रासस

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया