पत्रकारलाई सूचना चुहाएको भन्दै मेयरले कुटे कर्मचारी

जनकपुरधाम – विदेह नगरपालिकाको अनियमितताबारे पत्रकारलाई सूचना चुहाएको भन्दै मेयर बेचन दासले कर्मचारी कुटेका छन् । नगरपालिकाका कृषि अधिकृत चन्देश्वर ठाकुरले पत्रकारलाई अनियमितताबारे सूचना दिएको भन्दै मेयर दासले उनीमाथि हातपात गरेका हुन् ।
आफ्नो कार्यकक्षमा बोलाई दासले आफ्ना कार्यकर्ता र समर्थित वडाध्यक्ष अंगद रायसँग लागेर आफूमाथि हातपात गरेको ठाकुरको भनाइ छ । ‘म कार्यालयमा काम गरिरहेको बेला मेयरले उहाँको कार्यकक्षमा बोलाएर वडाध्यक्ष अंगद राय र उनका कार्यकर्ता शत्रुधन रायसँग लागेर ममाथि हातपात गर्नुभयो,’ उनले भने, ‘नगरपालिकामा भइरहेको अनियमितताबारे पत्रकारहरूलाई किन जानकारी दिएको भन्दै मेयरले गालीगलौजसहित धक्कामुक्की गर्दै तिघ्रामा लातीले हान्नुभयो ।’
नगरपालिकाले बाख्रा वितरणमा अनियमितता गरेको समाचार केही दिनअघि बाहिरिएपछि यसविषयमा मेयर दास कृषि अधिकृत ठाकुरमाथि जाइलागेका हुन् । नगरपालिकाबाटै बोर्डिङ, दमकल वितरण, प्रधानमन्त्री कृषि आधुनिकीकरणलगायतका कार्यक्रम सञ्चालन हुँदै आएको र यसवापत मेयर दासले १२ लाख रूपैयाँ कमिशन लिएकोसमेत ठाकुरको दाबी छ ।
‘ममाथि मेयरले हिंसा गरेकोबारे पालिकाका प्रशासकीय अधिकृत सञ्जिववकुमार साहलाईसमेत जानकारी गराएँ तर उनले केही प्रतिक्रिया दिएनन् । यस विषयमा अब प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनेछु,’ उनले भने । यता मेयर दासले आफूले कुनै कर्मचारीलाई कुटपिट नगरेको जिकिर गरेका छन् भने प्रशासकीय अधिकृत साहले नगरपालिकाभित्र कुनै कर्मचारीमाथि हातपात नभएको जनाएका छन् ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

प्रतिक्रिया