शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्यूयोर्कमा

फाइल तस्बिर

काठमाडौँ- पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्यूयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका छन् । 

न्यूयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले राससलाई भने अनुसार ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

न्यूयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनाका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसंघका उच्चाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको न्यूयोर्क स्थित नियोगले जानाएको छ । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल र एक अधिकृत काठमाडौँबाट हुन भने न्यूयोर्कबाट स्थायी प्रतिनिधि राई, कावा महावाणिज्यदूत गौतमसहितका अधिकारीहरू छन् ।