वित्तीय स्थिति कमजोर : महँगी बढ्यो, रेमिट्यान्स घट्यो, शोधनान्तर घाटा ३८ अर्ब
प्रशोधित तेलको निर्यात बढ्यो, नेपालमै खेती हुने अलैंचीको निकासी घट्यो

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थिती कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार साउनमा अर्थतन्त्रका अधिकांश सूचक कमजोर छन् ।
साउनमा रेमिट्यान्स आप्रवाह १८.१ प्रतिशतले घटेको छ । रेमिट्यान्स फ्लो ७५ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपछि त्यसको प्रभाव रेमिट्यान्समा पुगेको हो । अघिल्लो वर्ष ९९.२ प्रतिशतले घटेको थियो ।
मुलुकमा भित्रिने रकमको तुलनामा बाहिरिने रकमको अनुपातमा वृद्धि भएपछि शोधनान्तर स्थिति घाटामा छ । शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्ष यो ५१ अर्ब ४६ करोड रुपैयाँ बचतमा थियो ।
विदेशी विनिमय सञ्चितिमा समेत असर पुगेको छ । असारसम्म विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ थियो । तर साउनमा यो ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ ।
आयातित कच्चापदार्थमा आधारित वस्तुको निर्यात बढ्यो
साउनमा आयातित कच्चापदार्थमा आधारित वस्तुको निर्यात बढेको छ । पास आयल, सोयाबिन आयल, धागो, जुस, पिना जस्ता नेपालमा खासै खेती नहुने वस्तुबाट उत्पादित वस्तुहरूको निर्यातले कुल निर्यातलाई बढाएको छ । तर नेपालमै उत्पादनको सम्भावना बोकेको र विगतमा प्रमुख निर्यातयोग्य वस्तुको स्थानमा रहेका अलैंची, आयुर्वेदिक औषधी, जडिबुटी, जस्ता वस्तुको निर्यातमा कमी आएको छ ।
साउनमा आयात पनि ७५.७ प्रतिशतले बढेको छ । एक खर्ब ५० अर्ब रुपैयाँ बराबर वस्तुको आयात भएको छ । कच्चा सोयाबिन तेल, एमएस बिलेट, सुनको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपूर्जाको आयातमा कमी आएको छ ।
पोहोर साउनमा २२.२ प्रतिशतले घटेको व्यापार घाटा यसपाली ७०.६ प्रतिशतले बढेको छ ।
महँगी बढ्यो
साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिती (महँगीदर) ४.७५ प्रतिशत छ । अघिल्लो वर्षको साउनमा महँगीदर ३.४९ प्रतिशत थियो ।
गत वर्षको साउनको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २९.०७ प्रतिशत छ । थोक मुद्रास्फिती ४.२५ प्रतिशत छ । गत वर्षको साउनमा यो ७.३३ रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

प्रतिक्रिया