बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैँयामा तिर्न सकिने

काठमाडौंः नेपाल राष्ट्र बैंकले विदेशी परिवत्र्य मुद्रामा लिएको ऋण भुक्तानीमा सहजीकरण गरेको छ । केन्द्रीय बैंकले कोभिड–१९ का कारण विदेशी मुद्रा आम्दानी गर्न नसकेर विदेशी मुद्रामा ऋण भुक्तान गर्न नसक्ने अवस्था भएमा नेपाली रुपैँयामै ऋणको किस्ता तिर्न सकिने व्यवस्था गरेको हो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका क्रममा भएको घोषणा कार्यान्वयनका लागि राष्ट्र बैंकले आज  परिपत्र जारी गरेको छ । 

कोभिड–१९ का कारण विदेशी मुद्रा आर्जन गर्न नसकेर समस्यामा परेका विदेशी मुद्रामा ऋण लिएका व्यवसाय/फर्महरुलाई यसले सहजता प्रदान गर्नेछ । नेपाली वाणिज्य बैंकहरुले विदेशी परिवत्र्य मुद्रामा दिएको ऋणको हकमा यो व्यवस्था लागू हुने राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । 

‘उदाहरणका लागि अहिले पर्यटनमा आधारित लगायत केही व्यवसायहरुले विदेशी मुद्रा आर्जन गर्न पाएका छैनन्,’ उनले भने,  ‘अहिले उनीहरुलाई विदेशी मुद्रामै ऋण तिर भन्ने अवस्था नभएकाले सहजीकरण गरिएको हो ।’