सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

बन्दीपुर केबलकार कम्प्लेक्सको काम अघि बढ्यो

काठमाडौं : निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाको तल्लो स्टेशनमा केबल कार कम्प्लेक्स निर्माणको काम अघि बढेको छ । सोमबार बन्दीपुर केबलकार प्रालिले कम्प्लेक्सको एमइपी (मेक्यानिकल इलेक्ट्रीकल प्लम्बिङ)का लागि बोलपत्र आह्वान गरेको हो ।

तनहुँको बन्दीपुर नगरपालिका -४ ठुलढुंगामा बन्ने यो परियोजनाका लागि स्वदेशी कम्पनीहरूले भाग लिन पाउनेछन् । कोभिड–१९ का कारण कामदार घर फर्केपछि केबलकार परियोजनाको काम प्रभावित भएको थियो । हालसम्म केबलकार परियोजनाको काम ३५ प्रतिशत सकिएको कम्पनीले जानकारी दिएको छ । केबलकार परियोजनाको लागत एक अर्ब २८ करोड रुपैयाँ छ ।

तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ । 
लोअर स्टेशनमा निर्माण भइरहेको भवनको लागत १८ करोड ५५ लाख रुपैयाँ छ । केबलकार परियोजनाअन्तर्गत गत चैत ८ गतेदेखि १३ तलाको होटलसमेत निर्माण सुरु भएको छ । बन्दीपुर गाउँपालिका-४ बरालथोकमा निर्माण सुरु भएको होटलको लागत ८० करोड रुपैयाँ पुग्‍ने अनुमान छ । 

परियोजनाबारे
- परियोजना लागत : १ अर्ब २८ करोड
- शेयरपूँजी : ६४ करोड
- अन्य पुर्वधार लागत : १० करोड
- प्रवर्ध्दक शेयर : ७०%
- प्रारम्भिक सार्वजनिक निष्काशन : ३०%
- ॠण रकम : बैंक मार्फत ५० प्रतिशत 
- लगानी फिर्ता अवधि : ५.५४ वर्ष
- आयकर : ३० प्रतिशत 
- मुद्रास्फ्ती दर : १०%
- लगानी ढाँचा:

निजी-सामुदायिक-सहकारी र संस्थागत साझेदारी एवं व्यवस्थापन
चारतारे होटल निर्माणको जिम्मा काठमाडौँस्थित चन्द्र निर्माण सेवाले पाएको छ । होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौता गरिएको छ । यो भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।

केबुलकार पनि आगामी दसैँभित्र सञ्‍चालनमा ल्याउने गरी काम भए पनि बन्दाबन्दीले काममा असर पुगेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत एक अर्ब ५६ करोड रुपैयाँ छ । केबलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौंस्थित केज कन्सल्ट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पञ्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । 

सुरुवातमा ५६ करोड रुपैयाँको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख रुपैयाँबराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गाबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्ने छन् ।