बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

रोकिएन मोटरसाइकल चोरी

फाइल फोटो

काठमाडौँ - प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुने क्रम भने रोकिएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरुपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ । कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् । 

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । मात्रै महाशाखाले काठमाडौँको थलीबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । 

महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरेर लगिरहेको अवस्थामा वाग्मती प्रदेश ०२–०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी–मनहरा नगरपालिका– ५ थलीबाट नियन्त्रणमा लिएको हो । 

खोटाङ घर भई काँडाघारी बस्ने सञ्जिव राईले विहीबार साँझ पार्किङ गरेर राखेको अवस्थामा लभडाँडाबाट हराएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उक्त मोटरसाईकल सहित धिताल पत्रार परेका हुन् । 

उनीमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ को जीतबहादुर र २४ वर्षे बिष्णु तामाङसमेत भई चोरी गरेको र उनीहरुसँग अर्को चोरीको मोटरसाइकलसमेत रहेको खुल्न आएको थियो । 

खोजी गर्ने क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरससाइकलसमेत बरामद गरिएको छ । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ८४९४ रहेको अबस्थामा बरामद भएको थियो । चोरी गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ । पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरमा पठाइएको  छ ।

यसरी चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ । आज मात्रै ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिए । उनले सवारी साधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान जारी रहेको जानकारी गराउँदै सुरक्षाका उपाय अपनाउन पनि सवारी धनीसँग अनुरोध गर्नुभएको छ । रासस