बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कैलालीमा क्यासिनो खुला, प्रहरी-प्रशासन अनविज्ञ

कैलाली - कोभिड-१९ का कारण गतवर्ष देखि नेपाल-भारत सीमा बन्द रहेको भए पनि धनगढीमा रहेको एकमात्र क्यासिनो भने चालू अवस्थामा रहेको पाइएको छ । बन्द रहेको क्यासिनो गत भाद्र २१ गतेदेखि सञ्चालनमा आएको हो । अत्यावश्यक काम बाहेक नेपाल-भारत आवातजावत बन्द रहेको भए पनि धनगढीस्थित साथी होटलमा रहेको किंग्स लाउन्ज ग्यामिङ्ग क्यासिनो भने निर्वाध चालू रहेको छ । 

नेपालमै ब्यापार व्यवसाय गरिरहेका भारतीय मुलका नेपालीहरू क्यासिनोको मुख्य ग्राहक रहेका छन् भने भारतीय सीमावर्ती बजार पलियाबाट समेत क्यासिनो खेल्न आउने गरेको बताइएको छ । क्यासिनो सञ्चालकले प्रहरी प्रशासनलाई आफूले मिलाइसकेको भन्दै खेल्न आउन भारतीय व्यापारीहरूलाई बताउदै आएका एकजना व्यापारीले बताए । 

कोभिड-१९ का नेपाल सरकारले नै बन्द गरेको क्यासिनो व्यवसाय सञ्चालनमा रहेको बारे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले हाल सबै व्यवसाय खोल्ने भनेकोले क्यासिनो पनि खोलेको हुनुपर्ने बताए । उनले यस बारेमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न आग्रह गरे ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सबै पेशा व्यवसाय खुल्ला गरिएकोले क्यासिनोको छुट्टै निर्णय बारे आफूलाई जानकारी नभएको बताए । उता महेन्द्रनगरमा रहेको डाइमन्ड क्यासिनो क्लब र सिएमजी क्लब भने बन्द नै रहेका छन् ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने क्यासिनो खोल्ने विषयमा कुनै निर्णय नभएको बताए । उनले छिट्टै यसबारे निर्णय गरिने प्रतिक्रिया दिए ।