आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

कंकरको एकाधिकार अन्त्य गर्दै वीरगन्‍जमा पहिलो पटक निजी क्षेत्रको रेल

काठमाडौँ– निजी क्षेत्रले समेत रेल सेवा सञ्चालन गर्न सक्नेगरी गत असारमा नेपाल–भारत रेल सेवा सम्झौतामा संशोधन भएपछि पहिलोपटक निजी क्षेत्रको रेलमा नेपालको कार्गो वीरगञ्ज आइपुगेको छ । हिन्द टर्मिनलको रेलमा नेपालका ९० कन्टेनर (२० फुटे कन्टेनर) कार्गो सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

अहिलेसम्म इण्डियन रेल्वेको सहायक कम्पनी कन्टेनर कर्पोरेसन (कंकर) अफ इण्डियाको एकाधिकार थियो । कंकरले समयमा नेपालको कार्गो नउठाइदिदाँ भारतीय बन्दरगाह र कन्टेनर फ्रेट स्टेशनहरूमा नेपालको कार्गो कन्टेनर अड्कीएर थप शुल्क (डिमरेज चार्ज) बुझाउनुपर्ने स्थिति थियो । ‘कंकरले समयमा रेल नल्याउने, कहिलेकाहीं सामान लिएर आउँदा आउँदै बीचबाटोबाटै अन्यत्र लोकोमोटीभ डाइभर्ट गराइदिने समस्या थियो,’ वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानीले भने । यता खाली कन्टेनर समयमा फिर्ता गर्न नसकेका कारण डिटेन्सन शुल्क उच्च हुने गरेको थियो । 

नेपाल र भारतका आधिकारिक रेल सेवा प्रदायकले इण्डियन रेल्वेको स्वीकृति लिएर कार्गो रेल सञ्चालन गर्न सक्नेछन् । वीरगञ्जस्थित सुख्खा बन्दरगाहको व्यवस्थापन गरिरहेको प्रिस्टीन भ्याली ड्राइपोर्टले पनि रेल सञ्चालन गर्न पहल गरिरहेको बुझिएको छ । 

नयाँ व्यवस्थाले प्रतिस्पर्धा बढ्ने र ढुवानी लागत समेत प्रतिस्पर्धी र समय अनुमानयोग्य हुने वाणिज्य सचिव दिनेश भट्टराईले बताएका छन् । 

वीरगन्ज सुख्खा बन्दरगाह नेपालको एकमात्र रेलजडित बन्दरगाह हो । अहिले नेपालले विराटनगर एकीकृत जाँचचौकीसम्म रेल सञ्चालनका लागि भारतसँग पहल गरिरहेको छ, विराटनगर आइसीपीसम्म भारत सरकारको सहयोगमा रेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार विकास भैसकेको छ । 

यस्तो थियो रेल सेवा सम्झौतामा संशोधन