अमेरिकामा सोमबारदेखि कोभिड खोप लगाउने

कोभिड-१९ बाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोभिड खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो । सो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
'अत्यावश्यक परेका सवैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौँ भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार कामहरु भइरहेको छ,' खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने । उनीहरुका अनुसार सुरुमा यो सप्ताहन्तसम्ममा तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाउउने कार्य भइरहेको छ ।
दैनिक मृतकहरुको सङ्ख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३,३०९ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या अमेरिकामा एकैदिनमा कोभिडका कारण मृत्यु भएकाहरुको सवैभन्दा ठूलो सङ्ख्या हो । त्यसैगरी यो सङ्ख्या विश्वमै पनि कोभिडका कारण एकैदिनमा मृत्यु भएकाहरुको सबैभन्दा धेरै सङ्ख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
केही समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ । मृतक र सङ्क्रमितहरुको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।
खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् । पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ । एएफपी

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया