बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

कर्णालीका मुख्यमन्त्रीले गरे धामीको चामल लिएर भवन शिलान्यास

फाइल तस्बिर

सुर्खेत- माओवादीबाट निर्वाचित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले धामीको आर्शिवाद लिएर गाउँपालिकाको भवन शिलान्यास गरेका छन् । पचाल झरना–तीन पडेथामा गाउँपालिकाको भवनको धामीद्वारा पुजा गराएर मंगलबार शिलान्याश गराइएको छ । उनले भवन शिलान्यास गर्नु अघि धामीबाट आशिर्वाद स्वरुप चामल लिएका छन् । 

संघीय सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन निर्माण हुन लागेको छ । मुख्यमन्त्रीले आज ‘पचालो’ देवताका मूल धामी धनसिंह ऐडीको हातबाट आशिर्वादस्वरुप चामल लिएर भवन शिलान्यास गरे । मुख्यमन्त्री शाही माओवादीका तत्कालीन छैटौं डिभिजन कमाण्डर हुन् ।

दश वर्षे सशस्त्र युद्धको समयमा मन्दिर भत्काउनेदेखि धार्मिक अनुष्ठानहरू विथोल्ने कामको आरोप लागेकोे पार्टीका उनी अहिले धार्मिक काममा सरिक हुँदा सामाजिक संजालहरूमा  विभिन्न टिकाटिप्पणी गर्न थालिएको छ ।  

गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतले धामीले आशिर्वादस्वरुप मुख्यमन्त्रीलाई चामल दिएपछि मुख्यमन्त्री शाहीले भवन शिलान्यास गरेको बताए ।

‘त्यो जग्गा  खासमा पचालो देवताको हो । उनले खुसी भएर गाउँपालिकाको भवन निर्काणको लागि दिएका हुन्’  कठायतले भने, ‘हिजोको दिनमा कोटे राजाहरूबाट मैले जग्गा लिएको हो अब यो जग्गा तिमीहरूलाई दिन्छु भन्दै धामीले मुख्यमन्त्रीको हातमा चामल राखिदिएका हुन् ।’

गाउँपालिकाले भवन निर्माणका लागि जग्गा मागेपछि देवता हेराएर ४२ हजार बर्गमिटर जग्गा पास गरिएको उनले बताए । 

देवताको जग्गा पास गरेर त्यहाँ भवन निर्माण हुने भएकाले सोही देवताको मूल धामीलाई साक्षी राखेर भवन निर्माणको अनुमति मागिएको र शिलान्यास गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत कठायतले जानकारी दिए ।