रेडक्रसले दिएको एक लाखसहित चीनबाट ४५ लाख भेरोसेल खोप ल्याइँदै
भण्डारणमा समस्या हुँदा विमानस्थलबाटै पोखरा, हेटौडा र बुटवलमा पठाइने

काठमाडौँ- चीनबाट कोभिड-१९विरुद्ध लगाइने ४५ लाख डोज भेरोसेल खोप ल्याइने भएको छ । नेपालले खरिद गरेको ४४ लाख र चीनको रेडक्रसले नेपाल रेडक्रसलाई सहयोग गर्ने एक लाख डोज खोपसमेत ल्याउने भएको हो ।
बिहीबार वा ढिलोमा शुक्रबारसम्ममा नेपालमा खोप ल्याइने भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले जानकारी दिए । खरिद गरेको र नेपाल रेडक्रसले दिन लागेको खोप ल्याइने भएको उनले बताए । रेडक्रसले सहयोग गर्ने खोप असोज २ गतेसम्म आउन सक्ने जानकारी प्राप्त भएको उनको भनाइ छ ।
'एक भाइलमा पाँच डोज हुने भएकाले एकै पटकमा सबै खोप ल्याउन लागिएको छ,' कर्णले भने,' अरुबेला जस्तो धेरै पटकको सिफ्टमा खोप आयात हुदैन । एकै पटकको उडानमा ल्याइन्छ ।'
कर्णले खोप लिन नेपाल एयरलायन्सको जहाज बुधबार जाने मिति तय भइसकेको बताए । पछिल्लो समय चीनको विमानस्थलमा चार्टड उडान गर्ने जहाजको चाप बढेकाले मिति परिवर्तन हुन सक्ने उनको भनाइ छ । नेपालको तर्फबाट खोप लिन जान सम्पूर्ण कुरामा तयारी रहेको छ, चीनले अनुमति दिएमा भनेको समयमा खोप आउने भएको छ ।
चीनबाट ल्याइने खोप मन्त्रालयको खोप समन्वय समितिको बैठक बसेर निर्णय गरिने कर्णको भनाइ छ । बुधबार खोप समन्वय समितिको बैठक बसेर बिहीबारसम्ममा निर्णयहरू सार्वजनिक गरिने उनले बताए ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप योजनासमेत संशोधन गर्न लागेको समेत उनले बताए । खोप योजनामा यस अघि क्रमश उमेर समूहका आधारमा खोप लगाइने व्यवस्था उल्लेख गरिएको थियो ।
सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेकाले राष्ट्रिय खोप योजना समितिमा थप संशोधन गर्नुपर्ने कर्णले इकागजलाई बताए । फाइजर खोप राख्न पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए ।
'फाइजर खोप राख्न चार थान फ्रिज पनि ल्याइसकिएको छ, ' उनले भने,' अनुदानबाट एक लाख ६ हजार फाइजरको खोप ल्याउन लागिएको छ । करिब दुई महिना भित्रमा अनुदानको खोप भित्रिन सक्छ । '
सरकारले बालबालिकालाई लगाउन ६० लाख खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । खोप महाशाखा र आपूर्ति व्यवस्थापन महाशाले फाइजर खोपलाई कसरी व्यवस्थापन गर्ने त्यसमा ध्यान थालिसकेको कर्णले बताए ।
हालसम्म काठमाडौँ उपत्यकामा ४० वर्ष माथिकालाई र फ्रन्टलाइनरका रूपमा काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र अन्य पेशाकालाई समेत कोभिडविरुद्धको खोप उपलब्ध गराइएको छ ।
भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या एक करोड पुगिसकेको छ । हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।
चीनबाट अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
कोभिडको पूर्ण मात्रा खोप लगाउनेको संख्या १७ दशमलव ६५ प्रतिशत र पहिलो मात्रा १९ दशमलव ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।
औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट उत्पादित सिनोफार्मको भेरोसेल, भारत बायोटेकको कोभ्याक्सिन, फाइजर बायोनटेकको कोभिनाट्री, अमेरिकन जोनसन एण्ड जोनसन खोप र रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।
विमानस्थलबाट प्रदेशमा खोप पठाइन्छ
एकै पटकमा ठूलो संख्यामा खोप ल्याइने भएकाले खोप भण्डारण केन्द्रको व्यवस्थापन गर्ने काम भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले बताए । '४४ लाख खोप आइपुग्ने कागजपत्र आज मात्र हात परेको छ,' उनले भने,' क्यालकुलेशन कति हुन्छ त्यहीँ अनुसार राखिन्छ ।'
सकेसम्म काठमाडौँको भण्डार केन्द्रमा खोप राखिने थापाले जानकारी दिए । स्थान अभाव भएमा प्रदेशलाई बोलाएर सोही दिन पनि विमानस्थलबाट वितरण गर्न सकिने प्रस्ट पारे ।
'सबै प्रदेशका खोप भण्डार केन्द्रलाई खबर गरिसकिएको छ, सबै भण्डार केन्द्रका सवारीसाधन पनि छैन,' थापाले भने,' पोखरा, हेटौडा र बुटवलका भण्डार केन्द्रमा विमानस्थलबाट खोप पठाइन सक्छ ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया