बालोन डोरले मलाई मिस गर्छः इब्राहिमोभिच
काठमाडौँ- स्विडेनका ज्लाटन इब्राहिमोभिच ३९ वर्ष पुगे । युरोपियन क्लब फुटबलमा उनको उमेरका कयौँ प्रशिक्षक छन् । कति चाहिँ फुटबलमै फरक फरक भूमिकामा । तर इब्राहिमोभिच भने अझैँ पनि सिरी ए जस्तो बलियो लिगमा खेलिरहेका छन् । गोल संख्यामा युवा फरवार्डहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
स्विडेनकै माल्मोबाट व्यवसायिक फुटबल खेल्न सुरु गरेका इब्राहिमोभिच पछिल्ला दुई दशकदेखि उच्च स्तरका लिग खेलिरहेका छन् । यसबीचमा उनले युरोपका ठूला-ठूला क्लबबाट ३० भन्दा बढी उपाधि जितिसकेका छन् । १२ पटक स्विडेनको वर्ष खेलाडीका रुपमा सम्मानित भएका छन् ।
यत्तिको सफल भएकै कारण इब्राहिमोभिच आफूलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्तै प्रतिभाशाली खेलाडी भएको ठान्छन् । सात देशमा २२ वर्ष बलिया मानिने लिग खेलेका स्विडिस फरवार्ड भन्छन्, ‘मेरा लागि म विश्वको सर्वोत्कृष्ट खेलाडी हो,’
डच, स्पेनिस, इटालियन र फ्रेन्च लिग जितेका इब्राहिमोभिचले बालोन डोर जस्ता व्यत्तिगत अवार्ड भने जित्न सकेका छैनन् । बालोन डोरको दौडमा मेस्सी र रोनाल्डोको दबदबा रहँदै आएको छ । तर बालोन डोर नजिते पनि आफू मेस्सी र रोनाल्डो भन्दा कम नभएको इब्राहिमोभिचको भनाइ छ ।
‘यदि व्यत्तिगत कौशलको कुरा गर्ने हो भने म मेस्सी र रोनाल्डो भन्दा कम छैन । हो, मैले च्याम्पियन्स लिग भने जितेको छैन । म च्याम्पियन्स लिग जित्ने दबाबमा पनि छैन । कसैले यो पनि भन्न सक्छ, मैले बालोन डोर पनि जितेको छैन । तर म आफूलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी ठान्छु । मैले बालोन डोर मिस गर्ने होइन, बालोन डोरले मलाई मिस गरेको छ,’ इब्राहिमोभिचले फ्रान्स फुटबलको अन्तर्वार्तामा भनेका छन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया