शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

१२ सय बढी कन्टेनर नाकामा अलपत्र

काठमाडौं : चिनियाँतर्फका विचौलियाहरूको बलमिच्याई र नेपालको कूटनीतिक हिचकिचावटका कारण अझैँ हजारभन्दा बढी कन्टेनरहरू नेपाल–चीन सीमाको चीनतर्फ अलपत्र छन् । कैयन् सामानहरु विगत एक वर्षदेखि अलपत्र छन् ।

तर, सरकारले दिनमा चार/पाँच ट्रक भित्र्याएसँगै नाकाबाट सामान आइरहेको बताएको छ । रसुवागढी नाकाका भन्सार प्रमुख  पुण्यविक्रम खड्काले पनि दैनिक चार÷पाँच कन्टेनर सामान आउने गरेको बताए ।

‘चिनियाँहरुले नेपालतर्फ ल्याएर झारिदिने गरेका छन, जहाँ हामीले अस्थायी रुपमा भन्सार बनाएर चेकजाँच गरी नेपालीतर्फको ट्रकमा राख्न दिने गरेका छौं,’ उनले भने । तर, त्यो सामान ल्याउन नेपालीहरुले निकै मेहनत र संघर्ष चीनतर्फ नै गर्न परेको उनले बताए । नेपालतर्फ समस्या नभएको चीनतर्फ नै रहेको उनले बताए ।

चीनले अहिले पनि आफ्नो भूभागभित्र सामान खरिद गरेर ल्याउन दिने तर नाकामा ल्याएर नेपाल तर्फ पठाउन भने दुःख दिने काम गरिरहेको व्यवसायीहरु बताउँछन । ३० देखि ४० हजार तिरेर आफ्नो पालोमा ल्याउन सकिने भए पनि अहिले ८ देखि ९ लाख रुपैयाँ खर्चिएर आफ्नो सामान ल्याउनुपर्ने आवस्था आएको छ ।

विचौलियाहरु बढी भाडा असुल्दा यस्तो समस्या परेको गुनासो व्यवसायीहरूको रहेको भन्सार प्रमुख खड्काले बताए । ‘यसलाई कसरी समाधान गर्न सकिन्छ ? यसमा छलफल भइरहेको छ,’उनले भने ।  चीनतर्फ सामान ढुवानीका लागि नै ठूलो रकम तिर्न परेपछि सामान फर्काएर प्लेनमा समेत ल्याएको उनीहरुले बताए ।

नेपाल चेम्बर अफ कर्मसका भन्सार सभापति निरज राईले पनि सामान अलपत्र परेको र बढी भाडा चिनियाँलाई बुझाउन परेकाले समस्या भएको बताए ।

‘चीनतर्फको समस्याले हामी व्यवसायी डुब्ने अवस्थामा छौं । चीनले आफ्नो भूमिमा सामान ल्याउन दिने तर नेपाल पठाउन अनेक बहानावाजी गर्ने गर्छ,’ उनले भने,‘ब्यवसायीहरुलाई जुधाउने, विचौलिया प्रयोग गर्ने गरेर नेपाली ब्यवासायीलाई मार खुवाउने काम गर्दै आएको छ ।’

‘गर्मीको सामान अव अर्को गर्मीमा बेच्नु पर्ने हुन्छ । कपडा नबिग्रे पनि फेसन आउट हुनेछ । केही नहोला अन्य सामानको समस्या उस्तै छ,’ ब्यवसायीहरू भन्छन्, ‘चीन सरकारले सामान उपलब्ध गरायो । हामीलाई बेच्यो तर नाकामा ल्याएर नेपाल पठाउन रोक्यो । हाम्रो सरकार यसमा बोल्दैन ।’
यद्यपि यस्तो समस्यामा सरकारले पहल गरिरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पटक–पटक भनिरहेका छन् ।

कूटनीतिक पहल भएको भए अझै पनि सामान किन अड्किएको ? व्यवसायीहरुको प्रश्न छ । अब बैंकले नै गाडी लिलाम गर्ने अवस्था आएको छ । कोभिडको नाममा गत फागुनदेखि असारसम्म नाका नै बन्द गरेर सीमा आएको समान समेत ल्याउन नदिएर चीनले नेपाली ब्यवसायीलाई डुवाउने काम गरेको उनीहरुले बताए । भूकम्प र भारतीय अघोषित नाकाबन्दीपछि प्रयोगमा आएको उक्त नाकामा यसरी नेपाली ब्यवासायी फसेका हुन् ।