हुन्डरी काँडाले घोचेको घाउ काठमाडौँको अस्पतालले दुखायो

काठमाडौँ - बालुवाटारबाट करिब एक किलोमिटर टाढा छ, त्रिवि शिक्षण अस्पताल । बालुवाटारमा सत्ता गठबन्धन र मन्त्रीपरिषद बिस्तारको बैठक चलिरहन्छ । तर छेवैमा रहेको अस्पतालमा उपचार गर्न आएकाहरूको अवस्था जान्न सरकारको कहिलै बैठक बस्दैन । उनीहरूको प्राथमिकतामा बिरामी र अस्पताल पर्दैनन् ।
अझ सरकारलाई दूरदराजमा उपचार नपाइ बसेका बिरामीका दु:खमा त झनै चासो छैन । किनभने त्यहाँ कार्यकर्ता भन्दा बढी जनता बिरामी भएका हुन्छन् । जनता भन्दा बढी सरकारलाई कार्यकर्ताको जरुरी हुन्छ । जनता श्रम बगाउन खेतबारी जान्छन तर कार्यकर्ता झण्डा बोकी सडकमा टायर बाल्न साथ दिन्छन् ।
ग्रामीण भेगमा अस्पताल स्थापना नहुँदा उपत्यका बाहिरका मानिसहरू उपचार गर्न दुःखदायी यात्रा गरेर आउन बाध्य छन् । यात्रामा मात्रा सास्ती छैन । अस्पतालको गेट प्रवेश गरेदेखि उनीहरूलाई दुःखले निम्तो दिन थाल्छन् । लमजुङको नौथर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल भएको दुई महिना अघि च्याङ्ग्री सार्की महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा आउँदैन थिए । ६७ वर्षीय सार्की बाँया खुट्टाको दुई वटा औंला काट्न अस्पतालमा ४ सय नम्बरको बेडमा भर्ना भएका थिए । अहिले भने उनी अस्पतालको बेडमा होइन, चिसो भुँईमा रात काट्न बाध्य छन् ।
खुट्टाको शल्यक्रिया गरेर घर फर्केका सार्की अस्पताल आउँदा बेड नपाएर अस्पतालको टिकट काउण्टरको अगाडि सोमबार राती चिसो भुँइमा सुते । पहिलोपटक खुट्टाको शल्यक्रिया गर्न आए जस्तो गरेर फेरि काठमाडौँ आए तर उनले अस्पतालमा बेड पाएनन् । अस्पतालमा उपचार मात्र होइन सास्ती पनि उत्तिकै पाएका छन् ।
सोमबार बिहान सार्की अस्पताल परिसरमा छिरे तर दुई महिना अगाडि उपचार गर्दा सुतेको बेड र डाक्टरसमेत पाएनन् । उनी खुटामा लगाएको ब्यान्डेज खोल्न र नियमित परीक्षण गर्न आएका थिए । 'ओपीडीमा परीक्षण गर्न जाँदा शल्यक्रिया गरेको डाक्टर बाहिर जानु भएकाले मेरो तत्कालै उपचार हुँदैन भन्ने जवाफ पाएँ,' उनले भने ।
सार्कीको जीवनमा परिवार मात्र सहारा छैनन् । अहिले उनका लागि अतिरिक्त सहाराका वैशाखी पनि थपिएको छ । उनले दुई वटा वैशाखी लिएर हिंडन थालेको दुई महिना भयो । छिमेकीलाई सहयोग गर्न जाँदा बाटोमा सार्कीको खुट्टामा काँडा बिझेको थियो । आफू जस्तै वृद्ध थिए उनका छिमेकी । दुःखीको सहारा दुःखी हुन्छ भने जस्तै छिमेकीलाई सहयोग गर्न गएका थिए ।
काँडा बिझेको एक सातामा उनको दुखाइ कडा हुँदै गयो । दुखाई सामान्य भएकाले उनले वास्ता गरेनन् । हुन्डरी काँडा एकदम विषालु भएकाले बाँया खुट्टाको साइली र कान्छी औलामा च्याङग्रीलाई असर गर्यो ।
सार्की उपचार गर्न यसपटक दुई जना बुहारीसँग आएका छन् । जेठी र कान्छी बुहारीको साथमा आएका उनले चिसो भुँइमा रात कटाए पनि मध्यान्हमा भने फलामे बेञ्चमा बसेका छन् । गाउँबाट आएको पहिलो दिन उनले अप्रेसन गर्ने डाक्टर नभएको थाहा पाए । कहिलेसम्म चिसो भुँइमा सुत्नुपर्ने हो उनलाई थाहा छैन ।
'बुहारी अस्पतालमा सोध्न गएका छन, अस्पतालले बेड भर्ना नलिएमा पुनः भुइँमा सुत्नुपर्ने बाध्यता छ,' सार्कीले भने,' बिहान होटलबाट ल्याएको खाना खाएँ । बेलुका रोटी खाएँ ।'
यतिखेर अस्पतालमा सार्कीको उपचारमा संलग्न मुख्य डाक्टर छैनन् । उनका सहयोगीले हेरेर उपचारको प्रक्रिया अगाडि नबढाएकोमा उनले गुनासो गरे । अस्पतालले वास्ता नगर्दा सार्कीको उपचार प्रक्रिया अगाडि बढेको छैन । उनको उपचार प्रक्रिया अगाडि नबढ्दा पुनः भुँईमा सुत्नुपर्ने बाध्यताले उनलाई पछयाउने छ ।
खुट्टाको मात्र शल्यक्रिया गरेको भए पनि च्याङग्रीलाई केही हुँदैन थियो । खुट्टाको औला काटेसँगै उनलाई मधुमेहले पनि च्याप्न थालेको छ । मधुमेहका कारण अप्रशेन गरेको घाउ छिटो निको हुन नसकेको उनको भनाइ छ ।
लमजुङको प्राथमिक अस्पतालदेखि काठमाडौँको त्रिवी शिक्षण अस्पतालसम्म आइपुग्दा च्याङ्ग्रीको दुई लाख खर्च भइसकेको छ । उनले ऋण खोजेर उपचार गर्न थालेको चार महिना पुगेको छ । 'साहुहरूले ऋण दिएको पैसा माग्न थालेका छन, छोराले कमाएर दिएमा ऋण तिर्ने वाचा गरेको छु,' उनले सुनाए ।
सार्कीका जेठा छोरा कतार र कान्छा छोरा मलेसियामा छन् । मलेसियामा भएका छोराले कोभिड लकडाउनका कारण खर्च पठाउन नसकिरहेको सार्की बताउँछन् । अहिले छोरा नभए पनि बुहारीको सहारामा उपचार गर्न आएका छन् ।
उनको दुई वटा छोरा रहे पनि बुढेशकालमा साथमा दुवै भएनन् । दुई वटा छोरा छुट्टिएर उनीहरू बसेका छन् । 'हामी अहिले बुढेसकालमा बुढाबुढी चार वटा बाख्रा हेरेर बसेका छौ,' उनले आफ्नो दुःख सुनाए ।
सार्कीको पाँच मुरी फल्ने धानखेती छ । आफ्नो जमिन भए पनि अब उनी सधैँभरीका लागि खेती गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनले अलिअलि भएको खेत पनि दुवै छोरालाई सुम्पिसकेका छन् ।
'कमाएर दिए खाउँला नत्र यसै बसिन्छ, अस्पताल जान सक्ने भएसम्म जाउँला नत्र ओछयानमा थला परुँला,' अस्पताल प्राङ्गणमा राखिएको फलामे बेञ्चमा बसिरहेका सार्कीले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया