सांसद् भीम रावल र शोभा शाक्यले दशैँ पेश्की फिर्ता गर्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद् एवं स्थायी समिति सदस्य डा. भीम रावलले दशैँ पेश्की फिर्ता गर्ने भएका छन् । उनले संसद् सचिवालयलाई पत्र लेखेर आफ्नो खातामा जम्मा भएको दशैं भत्ता फिर्ता गर्न आग्रह गरेका हुन् ।
खातामा पठाइसकिएको रकम संसद् सचिवालय तान्न नमिल्ने भए सो बराबरको चेक आफूले संसद् सचिवालयमा बुझाउने वा आगामी महिनाको नियमित तलबबाट कट्टा गर्न उनले विकल्प सुझाएका छन् । कतिपय सांसद्हरुले सार्वजनिक खपतका लागि बोल्ने तर संसद् सचिवालयलाई यससम्बन्धमा आग्रह नै गर्दैनन् भनेर उनीहरुको आलोचना पनि हुँदै आएको थियो । रावलले आइतबार पत्र नै पठाएर दशैंको पेश्कीबापत्को ६४ हजार ७० रुपैयाँ फिर्ता गर्ने भएका हुन् ।
र, यो पनि
- महामारीमा पनि सांसदले छाडेनन् दशैँ पेश्की
संसद् सचिवालयलाई पत्र पठाउनुअघि उनले ट्वीटरमा दशैँ भत्ता नलिन कुनै नयाँ कानुन या कानुनमा संशोधन चाहिँदैन भन्दै उक्त रकम नलिन जनप्रतिनिधिलाई अपिल गरेका थिए । ट्वीटमा उनले भनेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैंभत्ता नलिने व्यवस्था गरियोस् । सांसद्हरुले उक्त भत्ता लिनहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’
यसैबीच कोभिड-१९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै साझा पार्टीकी बागमती प्रदेशसभा सदस्य शोभा शाक्यले पनि रकम फिर्ता गर्ने भएकी छन् ।
'मासिक तलब स्वत: खातामा आउने गर्दछ । बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु,' शाक्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'दशैँ खर्च बापतको सो रकम कोभिड_१९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु ।'
उनले सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन् ।
इकागजले महामारीमा पनि सांसदले छाडेनन् दशैँ पेश्की भन्ने शीषर्क आइतबार समाचार प्रकाशित गरेको थियो ।

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस् : साउद

प्रतिक्रिया