मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

सम्झौताअनुसार कोभिड बीमा भुक्तानी नपाएपछि पत्रकार महासंघ मोरङद्वारा मुद्दा दायर

विराटनगर – सम्झौताबमोजिम पत्रकारहरूले कोभिड बीमा भुक्तानी नपाएपछि नेपाल पत्रकार महासंघ मोरङले मुद्दा दायर गरेको छ । महासंघले उच्च अदालत विराटनगरमा सोमबार मुद्दा दायर गरेको हो । 

महासंघका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरूको बीमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी मुद्दा दायर गरेका हुन् ।विपक्षीले कानूनवमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर पत्रकारहरूको संवैधानिक एवं कानूनी हक अधिकारमा आघात पु¥याउने काम गरेको रिट निवेदनमा उल्लेख छ । नेपालको संविधानको धारा १८ र बीमा ऐन, २०४९ को दफा ८ तथा कोभिड बिमा मापदण्ड, २०७७ को दफा ११, १६ (३), (४) र (५) बमोजिम बिमितहरूले बिमांक रकम पाउने अधिकार हनन् भएको रिटमा उल्लेख छ ।

मोरङ शाखा र अजोड इन्स्योरेन्स कम्पनीबीच द्वीपक्षीय सम्झौता भई मोरङका २ सय १० जना पत्रकार र उनीहरूका परिवारका सदस्यहरूको बीमा गरिएका मध्ये ५१ जना बिमितहरूमा कोभिड संक्रमण भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी रकम पाउन सकेका छन् ।