बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

पहिरोबाट घर पुरिँदा दुईको मृत्यु

रोल्पा - रोल्पामा पहिराबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पहिरामा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताए ।

जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । यसैगरी सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखिएको रा १ ख २०६८ नं को सनलाइट बोर्डिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । सो बस उक्त ठाउँमा मर्मतका लागि राखिएको थियो ।