बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्‍स हत्‍या

प्रतिकात्‍मक तस्‍बिर

काठमाडौँ - संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको वडा नम्‍बर १ का अध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए । उनकाअनुसार अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाती दीपक कार्की र ३ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।

उनकाअनुसार परिवारका एक जना मात्रै जीवित छन् । ८५ वर्षीय वृद्ध जीवितै भेटिएका हुन् । दुई जना नाति-नातिनीको शव घरदेखि माथि खरबारीमा, सासू-बुहारीको शव खोल्सामा र छोराको शव सडकमै भेटिएको हो । घटनाको थप विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।