अलका आत्रेयको 'निनाद वल्लरी’ सार्वजनिक

काठमाडौँ : कुशे औँसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा ल्याएको छ । ‘नेपालय कविता’ अन्तरगत प्रकाशित यो पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो ।
‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ आफ्ना स्वर्गीय पिता आत्रेयको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो । यस काव्यले पिता पुत्रिको वात्सल्य र वियोगलाई छन्दमार्फत् अत्यन्त मार्मिक र सुललित शैलिमा अभिव्यक्त गरेको छ । साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रितिमाथि पनि परोक्ष रुपमा व्यंग्य गरेको छ ।
पितृवियोगको पीडादायी अनुभूति र गुम्सिएका घाउहरुलाई निको पार्न छन्द कविताको आश्रय लिएको बताउने अलकाले संग्रहमा यस्तै भाव समेटेको बताएकी छिन् । ‘भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने रहेछन् । प्रेम, प्रसन्नता, सुख वा दु:खको चूडान्त अनुभूतिलाई व्यक्त वा विरेचन गर्न हाम्रो शरीरको पनि सक्रिय सहभागिता हुन्छ भन्ने त प्रकृतिसिद्ध कुरा हो । साहित्यका विधाहरुमा छन्द कविता त्यस्तो भाव सम्प्रेषण गर्न सक्षम भएको मैले पाएँ ।’
कविले छन्द र संस्कृत साहित्यको प्रारम्भिक शिक्षा आफ्ना पिताबाटै पाएकी थिइन् । अठार वर्षको किशोर वयमै प्राचीन व्याकरणलगायत् अन्य दुई विषयमा स्नातकोत्तर गरेर किर्तीमान कायम गरेकी डा. अलकाले कक्षा दशसम्म घरमै पिताबाटै अनौपचारिक शिक्षा पाएकी थिइन् ।
‘बुवाको साहित्यप्रतिको स्नेह जीवनपर्यन्त रह्यो,’ उनले भनेकी छिन् , ‘हाम्रा कतिपय धार्मिक विधानहरूमा विवाहिता छोरीलाई पितृकार्यमा अर्कै गोत्रकी भनेर सरिक हुन वर्जना गरिएको रहेछ । शोकमा व्याकुल भएको बेला मलाई ती विधानहरू अप्रिय लागेका थिए । धेरै सोचे पछि मलाई लागेको थियो मेरा साहित्यानुरागी पितालाई आफ्नो श्रद्धाञ्जली चढाउन कविताभन्दा उपयुक्त अर्थोक के होला । त्यसैले, आज मेरा पिताको प्रथम वार्षिकीमा वहाँले नै सिकाएको पथ अनुशरण गर्दै ‘निनाद वल्लरी’ अर्पण गर्न चाहन्छु ।’
नेपालयकी सम्पादक भूषिता वशिष्ठले खण्डकाव्य नेपालमा प्रचलित विधा भएपनि यो विधामा लेख्ने महिला लेखक हुँदै नभएको अवस्थामा किताबले दुवै आवश्यकता पूरा गर्ने धारणा राखिन् ‘नेपाली साहित्य जगतमा खण्डकाव्य प्रचलित विधा हो । लेखनाथ पौड्यालको ‘ऋतुविचार’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ देखि माधवप्रसाद घिमिरेको ‘गौरी’ सम्म नेपाली पाठकबीच आज पनि उत्तिकै लोकप्रिय छन् । तर यो समृद्ध विधामा महिला लेखक भने विरलै भेटिन्छन् । नेपालय छन्द कविताको प्रर्बद्धनमा त कटिवद्ध छँदै छ, साथै अलका आत्रेय चूडालजस्ता ओजस्वी साहित्यकारको छन्दोबद्ध खण्डकाव्य प्रकाशित गरिनाले, यसले अन्य मेधावी छन्द कवि तथा कवयित्रीहरुको लागि पनि मार्गप्रशस्त गरोस् भन्ने हाम्रो कामना छ ।’
नेपाली बजारका निम्ति ‘निनाद वल्लरी’ को मूल्य रु. १६५ तय गरिएको छ । देशका प्रमुख पुस्तक पसलहरुमा साथै पुस्तकको ई बूक र अडियो बुक थुप्रै डट कम (www.thuprai.com) मा सर्वत्र उपलब्ध हुने छ । विश्व बजारमा पुस्तक अमेजनमार्फत् उपलब्ध हुने छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया