दशरथ रंगशालामा दर्शक देख्दा दंग परे भारतीय कप्तान सुनिल

काठमाडौँ - सुनिल क्षेत्री भारतीय फुटबल टिमका कप्तान मात्र होइनन्, निर्विवाद रुपमा समग्र भारतीय फुटबलकै सबैभन्दा ठूला स्टार हुन् । ३७ वर्षीय स्ट्राइकरले भारतका लागि एक सय १७ खेल खेल्दा ७४ गोल गरेका छन् । भारतीय टिम मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुग्दा अपेक्षा सुनिलले स्तरिय खेल देखाउँछन् भन्ने थियो ।
सुनिलले निराश बनाएनन् । आइतबारको खेलमा उनले एक गोल त गरे नै साथी खेलाडीलाई असिस्ट पनि दिए । पहिलो खेल १–१ को बराबरीमा टुंगिदा भारतीय टिमबाट भएको गोलमा सुनिलको संलग्नता थियो । यसअर्थमा उनका लागि नेपाल भ्रमण निराश बनेन ।
जित बाहेक अर्को कारणले पनि सुनिल दंग देखिए । कारण बने दशरथ रंगशालामा उपस्थित दर्शक । ‘हामीले पछिल्ला डेढ वा दुई वर्ष दर्शकविनाको रंगशालामा खेल्यौँ । नेपालमा दर्शकले भरिएको मैदानमा खेल्न पाउँदा खुशी लागेको छ । हुन त यी दर्शक हाम्रो विपक्षमा थिए । यद्यपि दर्शकले भरिएको रंगशालामा खेल्न पाउँदा बेग्लै किसिमको मज्जा आउँछ,’ नेपालसँगको दोस्रो खेलपछि सुनिलले भने ।
आइतबार साँझ गोल पनि गरेका सुनिलले नेपालविरुद्ध खेल्न सजिलो नभएको पनि स्विकार गरे । ‘नेपालसँगको खेल अवश्य पनि सजिलो हुँदैन । आजको खेलमा नेपाली खेलाडीहरुले असाध्यै राम्रो डिफेन्ड गरे । हामीले गोल गर्न र उनीहरुलाई गोल गर्न नदिन धेरै मेहेनत गर्नुपर्यो,’ उनले भने ।
भारतीय कप्तानले आसन्न साफका अगाडि भएको मैत्रीपूर्ण खेलमा जित निकाल्दा आत्मविश्वास बढ्ने बताए । ‘खेल जितियो । यसले हामीलाई अवश्य पनि खुशी बनाएको छ । तर हाम्रो प्रदर्शनमा सुधारको पनि जरुरी छ,’ सुनिलको भनाइ थियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया