बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले पटक डल्फिन गणना गर्ने

कैलाली – डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्ने भएको छ । कैलालीको दक्षिण पूर्वी क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिका क्षेत्रमा पर्ने नदीमा डल्फिन गणना सुरु गरिएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले बताए ।

दुई दिनसम्म डल्फिन गणना गरिने अध्यक्ष ढुङ्गानाले जानकारी दिए । उनले टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने बताए । जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया सङ्गम, गैरी पथरिया सङ्गम, काढानदी पथरिया सङ्गम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी सङ्गम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया सङ्गम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना गरिने अध्यक्ष ढुंगानाले बताए ।

२०७३ सालमा ६५ वटा डल्फिन गणना गरिएकोमा यो वर्ष ३५ देखि ४० वटा डल्फिन देखा परिसकेको बताउँदै पछिल्लो तथ्यांक हेर्दा डल्फिनको संख्या बर्सेनि घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको अध्यक्ष ढुङ्गानाले बताए । 

बर्सातको चार महिना असारदेखि असोज महिनासम्म पथरिया, काढा, कान्द्रा नदी, गैरीनाला, रेप्टीनालामा गाङ्गेटिक जातका डल्फिन देखा पर्ने गर्दछन् । सो समयमा डल्फिन हेर्न देश तथा विदेशबाट समेत पर्यटकहरु आउने गरेको अध्यक्ष ढुंगानाले बताए ।