शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

मैतीदेवीमा फ्रेसकेटिएमको आउटलेट खुल्यो

काठमाडौँ - तरकारी तथा फलफूल बारीबाट सीधै उपभोक्तासम्म पुर्‍याउने 'फ्रेसकेटिएम'ले मैतीदेविमा आफ्नो आउटलेट सञ्‍चालनमा ल्याएको छ। शनिबार यो आउटलेटको औपचारिक उद्घाटन भएको हो । यस्ता आउटलेट आफूले भन्दा अरुलाई खोल्न प्रोत्साहन गर्ने र आफ्नो संकलन केन्द्रबाट त्यहाँ तरकारी पुर्‍याउने योजना फ्रेस केटीएमको छ । 

यो आउटलेटबाट 'फ्रेसकेटीएम'को ब्राण्डमा तरकारी र फलफूल बिक्री सुरु गरेको छ । यसका लागि उपत्यकामा संकलन केन्द्र रहेको छ । त्यस्तै अन्य  बिक्रीस्थल (आउटलेट) पनि खुल्ने जनाइएको छ । यो व्यवसायमा विदेशमा अध्ययन गरी फर्केका र यहाँ विभिन्न व्यवसायमा स्थापित युवाहरू संलग्न छन् । उनीहरूले १० करोड लगानीमा यो व्यवसाय सुरु गरेका हुन् । चिस्यानसहित ढुवानी गर्न सकिने (रेफ्रिजेरेटेड) चार थान ट्रक ल्याइसकेको फ्रेसकेटीएमले अहिले भक्तपुरमा संकलन केन्द्र बनाइरहेको छ । 

'बी टू बी' सप्लाई चेनमा आधारित यो व्यवसायमा कम्पनीले किसानलाई प्राविधिक तथा वित्तीय सहायता दिने कम्पनीले जानकारी दिएको छ । सरकारी मापदण्डको अधिनमा रहेर तरकारी तथा फलफूल समेत उत्पादन गरिरहेको छ । यसले किसानलाई बिक्रेताले समयमा भुक्तानी नदिने समस्या समाधान गर्न मद्दत पुर्‍याउने कम्पनीले जानाएको छ ।

२४-४८ घन्टाभित्रमा तरकारी खरिदबापत किसानलाई भुक्तानी दिने पद्धती रहेको कम्पनीको दाबी छ । यसले उपभोक्तालाई मार नपार्ने गरि किसान र बिक्रेतालाई उचित मुनाफासमेत दिने सुविधाको व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकारी सन्दिप अधिकारीले जानकारी दिए । प्रत्येक उत्पादनमा क्यू आर कोडको व्यवस्था गरिएको छ । जसलाई स्क्यान गरेर कृषि उपजको बाली लगाउँदा, गोदाममा राखिएको र बिक्रीको रियल टाइम डेटाबारे बुझ्न सकिन्छ । 

यसरी तरकारी  तथा फलफूल बिक्री गर्दा सामान्य झै लागे पनि यसले कृषक देखि साना व्यवसाय गरिरहेकालाई थप उर्जा दिने विश्वास समेत फ्रेस केटीएमको छ । यसका चार संचालक मध्ये एक अर्थात अपरेसन प्रमुख शिव न्यौपानेका अनुसार किसानसँग खरिद गर्ने त्यसलाई स‌ंकलन केन्द्रमा ल्याएर सरसफाइ गरेर मात्र  आउटलेटमा पुर्‍याउने काम हुनेछ ।

'यहाँ सुरु गरेको आउटलेट एउटा मोडल मात्र हो । यस्तै आउटलेट अन्यत्र पनि रहोस् भन्ने उद्देश्य फ्रेसकेटीएमको हो, ' न्यौपानेले भने, 'फ्रेसकेटीएमको कम तर अन्यको बढी आउटलेट रहेको हेर्न चाहन्छौँ । हामी हरेक चौक कुनामा फ्रेस केटीएमको खान योग्य तरकारी तथा फलफूल पुर्‍याउने छौँ । '