शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चिटकै भरमा स्मार्ट लाइसेन्स

काठमाडौँ - सरकारले मागअनुसार स्मार्ट लाइसेन्स छाप्न नसक्दा ट्रायल पास गरेका र नवीकरण गरेका चालकले पनि नयाँ लाइसेन्स पाउन सकेका छैनन् । लाइसेन्स छाप्न ढिलाइ भएपछि यातायात व्यवस्था विभागले ट्रायल पास गरेका र नवीकरण गर्ने चालकका लागि परीक्षणकालीन लाइसेन्स (चिट)  दिन सुरू गरेको छ । 

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्षदिन कुुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाइ रूपमा एकवर्ष अवधिको परीक्षणकालीन लाइसेन्स (चिट) दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताए । 

स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख चालक वर्षौंदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने जानकारी दिए । कोभिड–१९ को महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने उनको तर्क छ । उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आएलगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने जनाए ।