मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

घरमै तह लगाउन सकिन्छ फोहोर

काठमाडौँ - सिसडोल ल्यान्डफिल साइट जाने बाटो बिग्रिएपछि लामो समय उपत्यकाको फोहोर उपत्यकामै थुप्रियो । सहर फोहोरको थुप्रोले दुर्गन्धित बन्यो । सिसडोलको विकल्पमा अब बन्चरेडाँडामा लगेर फोहोर व्यवस्थापन गर्ने भनिएको छ । एक ठाउँमा थुप्रिने फोहोर अर्को ठाउँमा लगेर थुपार्नु समस्याको समाधान होइन । फोहोरलाई नगरपालिकाको गाडीमा हालेर पठाउनु पनि समस्याको समाधान होइन ।

फोहोरको उचित व्यवस्थापनका लागि हाम्रो घरबाट निस्किने फोहोर घरमै व्यवस्थापन गर्न सकिन्छ । घरमै फोहोर तह लगाउन सके न टोल दुर्गन्धित बन्छ न सहर । घरको फोहोर सिसडोल वा बन्चरेडाँडासम्म पुग्न नदिन हामी थुप्रै उपाय अपनाउन सक्छौँ । 

आफूले प्रयोग गर्ने सामानमा ध्यान दिने 

हामीले दैनिक प्रयोग गर्ने सामानमा थोरै मात्र ध्यान दिन सकियो भने पनि फोहोर व्यवस्थापनमा सहयोग पुग्छ । हामीले कस्ता कपडा, जुत्ता, प्लास्टिकका भाँडाकुुँडा, झोला प्रयोग गर्छौ ध्यान दिनुपर्छ । लामो समयसम्म टिकाउ हुने कपडा किन्नुपर्छ । आवश्यकताभन्दा बढी जुत्ता किन्नुहुँदैन । प्लास्टिकको भाँडाकुँडा र झोला पनि सकेसम्म प्रयोग गर्नुहुँदैन । यस्ता कुरालाई लिएर हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ ।

कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने 

कुहिने, नकुहिने पफोहोरलाई एउटै प्लाष्टिकमा खाँदखुँद नपार्ने । फोहोरको वर्गिकरण गर्नुपर्छ । फोहोरलाई एकै ठाउँमा नराखी यसको वर्गिकरण गर्नुपर्छ । कुहिने फोहोरलाई मल बनाएर बोटबिरुवामा हाल्न सकिन्छ । अहिले सहरमा पनि कौसी खेती गर्ने चलन छ । कुहिने फोहोरलाई मात्रै तह लगाउन सकियो भने पनि बाँकी फोहोर तह लगाउ गाह्रो पर्दैन । नकुहिने कतिपय फोहोरलाई विभिन्न प्रयोजमा प्रयोग गर्न सकिन्छ । सबै फोहोर एकैठाउँमा राख्दा दुर्गन्धित भएर वातावरण प्रदुषित बनाउँछ । फोहोरमा दुर्गन्ध नफैलियोस् भन्नको लागि पनि फोहोर छुट्याएर राख्नुपर्छ । 

पुनः प्रयोग  वा पुनः प्रशोधन गर्ने 

हामीले फोहोर भनेर फ्याक्ने धेरै सामान पुन प्रयोग गर्न मिल्ने खालका हुन्छन् । घरबाट निस्किने फोहोरका पुनः प्रयोग गर्ने हो भने कमै मात्र फोहोर फ्याँक्नुपर्ने हुन्छ । तर, त्यसमा ध्यान नै नदिइ हामी सबैकुरालाई फोहोर बनाएर फ्याकिदिन्छौँ । किताब, कागज, प्लास्टिकका समान, फलामको टुक्रा आदि सबै पुनः प्रयोग गर्न मिल्छ । यस्ता सामानलाई हामीले छुट्याएर राख्नुपर्छ । कतिपय सामान आफै घरमा पुनः प्रयोग गर्न मिल्छ । कतिपयलाई भने पुनः प्रशोधनका लागि हामीले पठाउन सक्छौँ । यसरी घरमै फोहोरको व्यवस्थापन गर्दा  ल्याण्डफिल साइडटमा मात्रै फोहोर थुप्रिदैन ।