नेपालले चाहेको बेला टनकपुरको बिजुली पाउने

काठमाडौं : महाकाली सन्धिअनुसार टनकपुरबाट पाउने निःशुल्क बिजुली अब नेपालले चाहेको बेला पाउने भएको छ । महाकाली सन्धिमा कूल परिमाण सात करोड युनिट नेपालले पाउने भनिए पनि कहिले, कतिबेला कति युनिट भन्ने उल्लेख नभएकाले भारत आफूले चाहेको बेला दिँदा आएको थियो । तर नेपालले टनकपुरको बिजुली हिउँदयाममा मात्र दिन आग्रह गर्दै आएको थियो ।
भारतले महाकाली सन्धिमा बिजुली दिनेबाहेक अरु उल्लेख नगरेकाले सन्धिअनुसार जनवरीदेखि डिसेम्बरसम्म जहिले दिए पनि हुने भन्दै आएको थियो । नेपाल-भारत संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रूप) को बिहीबार मध्यरातमा सम्पन्न बैठकमा यस्तो सहमति भएको हो । महाकाली सन्धि भएपनि सन् १९९९ देखि नेपालले टनकपुरको बिजुली हिउँदयाममा उपलब्ध गराउन भारतलाई आग्रह गर्दै आएको थियो । ‘हामीले भनेको २१ वर्षपछि बल्ल भारत मानेको छ,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले शुक्रबार इकागजसँग भने ।
सात करोड युनिट बिजुली मुश्किलले १५ मेगावाट हुन्छ । यति थोरै पमिाणको बिजुलीलाई युनिटमा बदली भारतले नेपाललाई धेरै कुरा दिएको जस्तो गरी महाकाली सन्धि गराउने प्रयास गरेको थियो । भारतले सात करोड युनिट बिजुली नेपाललाई दिंदा बढी जाने गरेको तर हिसाबकिताब हुने नगरेकाले त्यसलाई लेखाजोखा हुनुपर्ने एजेन्डा राखेको थियो । नेपालले भारतको एजेन्डामा पनि सहमति जनाएको ती अधिकारीले बताए ।
बिहीबार बिहान ११ बजे सुरु भएको सहसचिवस्तरीय उक्त बैठकको माइन्यूटिङ (निर्णय उतार) हुँदा रातको १२ बजेको थियो । त्यसैगरी बैठकमा नेपालले उठाएका अधिकांश एजेन्डामा भारतले पुरानै शैली अपनाउँदै ‘भइहाल्छ, गरिनेछ, प्राथमिकता दिइनेछ’ भनेर सहमति जनाएको छ । नेपालको बिजुली भारत निकासी गर्ने सवालमा भारतको विद्युत् मन्त्रालयले ‘कन्डक्ट अफ बिजनेस रुल्स’ (सीबीआर) जारी गर्ने भनेर बैंगलोरमा सम्पन्न सातौ सचिव स्तरीय बैठक (जेएससी) ले निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार भारतीय विद्युत् मन्त्रालयले एक साता भित्र उक्त कार्यविधि (सीबीआर) जारी गर्ने भनिएको थियो । एक वर्ष बितिसक्दा पनि जारी भएन । यही विषयलाई बिहीबार भएको सहसचिव स्तरीय बैठकले पनि ‘छिट्टै जारी गर्ने सहमति’ भएको छ ।
नेपालले आफूसित बिजुली जगेडा भएका बेला इनर्जी बैकिङमार्फत भारतमा निकासी गर्ने र नेपालको सुख्खायाममा अपुग बिजुली भारतबाट ल्याउने संयन्त्र (इनर्जी बैकिङ) प्रस्ताव गर्दै आएको छ । भारतले कहिले पनि हुँदैन भनेको छैन । तर व्यवहारमा गरेको छैन ।
त्यसैगरी सहसचिव बैठकमा नेपालले बंगलादेशसम्म बिजुली पुर्याउन भारतीय सहयोगको अपेक्षा राखेको थियो । यसमा पनि भारतले उही परम्परागत तवरमै जवाफ दिएको ती सहभागीले बताए ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_WIGSgfQuyF_dhvxsajcxcgm25cd9nqzyaomv8xjs5hbfhlfnjw1sapzfhbumirxtzxwagon.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया