सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

जसपा लुम्बिनीको रिक्त समानुपातिक सांसद्‍मा निर्मला भट्टराई निर्वाचित

रुपन्देही – लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को रिक्त समानुपातिक सांसद्मा निर्मला मुडभरी भट्टराई निर्वाचित भएकी छन् । जसपाको ह्वीप उल्लंघन गर्दै तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन गरेपछि पार्टीले सांसद् कल्पना पाण्डेलाई पदमुक्त गरेपछि रिक्त सो पदमा भट्राई निर्वाचित भएकी हुन् ।

जसपा एकताअघि राष्ट्रिय जनता पार्टीको तर्फबाट बन्द सूचीमा पाण्डेपछिको क्रममा रहेकी भट्टराईलाई निर्वाचित गर्न जसपाले सिफारिश गरेको थियो। जसपाले ३२ साउनमा गरेको सिफारिसअनुसार निर्वाचन आयोगले १० भदौमा भट्टराईलाई निर्वाचित गर्ने निर्णय गरेको थियो ।

आयोगले सो पत्र प्रदेश सभा सचिवालयमा पठाएको छ । ३२ साउनमा जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार रिक्त पदमा भट्टराईलाई निर्वाचित गरिएको पत्रमा उल्लेख गरेको छ।