मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

कृषि तालिम लिन इजरायल गएका १० नेपाली युवा सम्पर्कविहीन

एक हजार पुर्‍याउने लक्ष्य थियो, संख्या नै कटौती हुने त्रास बढ्याे

काठमाडौँ-  कृषि तालिम लिन इजरायल गएका १० जना नेपाली परीक्षार्थी सम्पर्कविहिन भएका छन् । इजरालयस्थित नेपाली दूतावासका अनुसार सेडोट नेगेभ कृषि तालिम केन्द्रबाट ४ जना, द एक्स्ट्रनल स्टडीज इन्स्च्युटबाट २ जना, किन्नेरेट कलेजबाट २ जना र आराभा अन्तरर्राष्ट्रिय कृषि तालिम केन्द्रबाट २ जना सम्पर्कविहिन भएका हुन् । परीक्षार्थीहरू ११ महिनाका लागि तालिम लिन गएका थिए।

त्यसैगरी विद्यार्थीबाहेक रोजगारीका शिलशिलामा ल्याइएका केही कामदार पनि सम्पर्कबाहिर रहेको दूतावासले जनाएको छ । सम्पर्क बाहिर रहेकाहरूको खोजी कार्य भइरहेको दूतावासले उल्लेख गरेको छ ।

सम्पर्कविहिन भएकाहरूको पत्ता लागिसकेकाले उनीहरूलाई प्रहरीको सहयोगमा पक्राउ गरी यथाशक्य नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले सम्पर्क बाहिर रहेका विद्यार्थी बाहेक अन्य नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । 'अन्यथा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ,' दूतावासले भनेको छ,' दुई-चार जनाको बदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो । दूतावासबाट एक हजार पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरूले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ ।'

' सिक्दै र कमाउँदै ' अभियान अन्तर्गत ईजरायली अन्तरर्राष्ट्रिय विकास साझेदार संस्था अन्तर्गत वर्षेनी नेपालबाट कृषि तालिमका लागि परीक्षार्थी जाने गरेका छन् ।