राधाकृष्ण खटयात्रा आज, भिडभाड रोक्न समय गोप्य

विराटनगर - श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा कोभिड-१९ को महामारीका कारण यो वर्ष पनि खटयात्रामै सीमित गरिने भएको छ । रथयात्रा गर्दा मानिसहरूको भिडभाड हुने भएकोले त्यसलाई निरुत्साहित गर्न आयोजक समितिले आज खटयात्रा निकाल्दैछ । भक्तजनहरूको भिड लाग्ने भएकोले खटयात्राको समय समेत गोप्य राखिएको छ ।
अघिल्लो वर्षको भन्दा केही फरक हुने गरी यसवर्ष रथयात्रा गर्न लागिएको राधाकृष्ण मन्दिरका कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । उनले कोभिडकै कारण विगत वर्षको जस्तो झाँकीसहितको रथयात्रा नहुने बताए ।
‘यस वर्ष पनि रथलाई मान्छेले तान्ने छैनन्, एउटा गाडीलाई विशेष रूपमा सजाएर त्यसैमा राधाकृष्णको प्रतिमा राखेर विराटनगर बजार परिक्रमा गराइनेछ’ उनले भने ।
राधाकृष्ण मन्दिरबाट सुरु हुने खटयात्रा मेनरोड हुँदै रोडषेश चोक पुग्नेछ । त्यहाँबाट कोशी राजमार्ग अन्तरगत महेन्द्रचोक–बरगाछी–कन्चनबारी–आयल निगम हुँदै राजवंशी चोकसम्म पुग्ने जनाइएको छ । राजवंशी चोकबाट पुष्पलाल चोकतर्फ घुमाएर पुनः विराटनगर–१ तिनपैनीस्थित राधाकृष्ण मन्दिर पुगेर रथयात्रा समापन गरिने ओझाले बताए ।
राधाकृष्ण रथयात्रा वि.सं. १९८८ मा खटयात्राबाट सुरु भएको थियो । वि.सं. २०२४ सालदेखि मात्रै रथयात्रामा परिणत गरिएको थियो । विराटनगरमा यस पटकको खटयात्रा ५४औं संस्करण हो ।
विगत वर्षहरूमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा हिन्दु धर्मावलम्बीहरूका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र महत्वका साथ लिन थालिएको थियो ।
रथयात्रामा नेपाल र भारतबाट पाँच लाखसम्म भक्तजनहरु सहभागी हुने गरेका थिए । तर कोभिड महामारीका कारण दुई वर्षयताको रथयात्रा भने औपचारिकतामात्रै सीमित बनेको हो ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया