शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

विश्व बैंकको सहयोगका परियोजनाहरूको प्रगति समीक्षा

काठमाडौँ– अर्थ मन्त्रालय, कार्यान्वयन निकाय र विश्व बैंकले विश्व बैंक सहयोगका २७ ओटा चालु परियोजनाको प्रगतिसम्बन्धी समीक्षा हालै सम्पन्न गरेका छन् । यी परियोजनाहरूको कुल लागत ३ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । 

परियोजना प्रगति समीक्षा बैठक भौतिक र भर्चुअल दुवै उपाय अपनाएर अर्थ मन्त्रालयमा आयोजना गरिएको थियो । अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका नेपाल, श्रीलंका र मालदिभ्सका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अध्यक्षता गरेको उक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल उपस्थित थिए । 

सरकारी आयोजनाहरूप्रति आम सर्वसाधरणको दृष्टिकोणबारे चर्चा गर्दै मन्त्री शर्माले परियोजनाहरू समयमा गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए । नागरिक सहभागिता बढाँदै परियोजनालाई वैज्ञानिक र आधुनिक परियोजना विकासका औजारहरूको प्रयोगमार्फत् सम्पन्न गर्न उनले सुझाव दिएका थिए । उनले निरन्तरको सहयोगका लागि विश्व बैंकलाई धन्यवाद पनि दिएका थिए । 

विश्व बैंक सहयोगका परियोजना कार्यान्वयन गरिरहेका मन्त्रालयहरूबाट समस्या समाधान हुन नसकेका विषयहरूमा चर्चा गरिएको थियो । यो बैठकले परियोजना कार्यान्वयनमा कोभिड–१९ को प्रभावका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । यसका अतिरिक्त परियोजना कार्यान्वयनका चुनौतीहरू स्थानीय र प्रदेश तहमा परियोजना व्यवस्थापन, कर्मचारीहरूको बारम्बार सरुवा, ठेक्का प्रक्रियामा ढिलाइ, जलवायु तथा वातावरणीय र स्थानीय समाजका सुरक्षाका विषयहरू र भुक्तानी प्रक्रियामा ढिलाइका सम्बन्धमा छलफल भएको थियो । 

अर्थ सचिव मधुकुमार मरासिनीले संयुक्त ढङ्गले उचित समन्वयमार्फत् कार्यान्वयनका समस्या समाधान गर्न आग्रह गरे । परियोजनाको वार्षिक समीक्षा, कार्यान्वयनका चुनौती र यसलाई संयुक्त रूपमा सम्बोधन गर्ने उपायहरूमा केन्द्रित हुने गर्छ । क्षेत्रगत बैठकहरू सम्बन्धित मन्त्रालयका सचिवको अध्यक्षतामा सम्पन्न भएको थियो । 
विश्व बैंक सहयोगका परियोजनाहरू उर्जा, यातायात, पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वातावरण, सहरी विकास, खानेपानी र सिंचाइ, कृषि र पशुपालन तथा सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा केन्द्रित छन् । 

‘कोभिड–१९ महामारीले नेपालमा विकास निर्माणका काम प्रभावित भएका छन्, यद्यपि हामी महामारीका बाबजुद पनि परियोजना कार्यान्वयनलाई सशक्तीकरण गर्ने सरकारको दृढताबाट उत्साही भएका छौं,’ विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले भने, ‘महामारीले परियोजना कार्यान्वयन र पुँजीगत खर्च वृद्धिको नयाँ पहलका खोज्न बाध्य पारेको छ, समयमा परियोजना कार्यान्वयनमार्फत् आम नेपालीलाई लाभ पुर्‍याउन सकिन्छ ।’

विश्व बैंक सहयोगको प्रगति समीक्षा बैंठकमा विभिन्न मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशकहरू, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक र विश्व बैंकका तर्फबाट सम्बन्धित परियोजनाका प्रतिनिधि टोली सहभागी थिए ।