दाङ र कपिलवस्तुकाे ७० हजार हेक्टर जमिन सिँचाइ हुने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले करिब ७० हजार हेक्टरमा वर्षैभरि पानी पुर्याउने दुईवटा महत्वपूर्ण बहुउद्देश्यीय आयोजना अघि बढाएको छ । पहिलो, नौमुरे र अर्को माडी डाइभर्सन । भालुवाङदेखि करिब आठ किलोमिटर माथिल्लो भेगमा पर्ने नौमुरे (पश्चिम राप्ती र झिमरुकको दोभान) मा मुख्य बाँध बनाई त्यहाँदेखि तल लामातालमा अर्को पुनः सञ्चालन बाँध (रिरेगुलेटिङ ड्याम) मार्फत कपिलवस्तुमा सिंचाइ पुर्याउने उद्देश्यले विद्युत् विकास विभागले अध्ययन अन्तिम चरणमा पुर्याएको छ । यो योजना कार्यान्वयन भएमा कपिलवस्तुमा २९ हजार सात सय ३६ हेक्टर सिंचित हुनेछ ।
मन्त्रालयअन्तर्गतकै सिंचाइ विभागले पनि माडीको पानी २७ किलोमिटर सुरुङ खनेर दाङ उपत्यकामा खसाल्ने (डाइभर्ट) गरी अध्ययन सुरु गरेको छ । माडीको ४० क्यूमेक पानी खसाल्दा दाङ उपत्यकाका ४० हजार हेक्टर जमिनमा बाह्रै महिना पानी उपलब्ध गराउने लक्ष्य छ । मन्त्रालयमा प्राविधिक तहमा व्यापक छलफल गरेर यी दुवै आयोजना कार्यान्वयन गर्न सकिने निचोडमा पुगेर अध्ययन सुरु गर्न लागिएको सिंचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीले बताए । ‘मन्त्रालय र विभागका सबै प्राविधिक राखेर हामीले तुलनात्मक अध्ययन गर्यौं,’ महानिर्देशक राजभण्डारीले बिहीबार इकागजसँग भने, ‘माडीको पानी दाङ लैजाँदा नौमुरे योजनालाई पानी कम हुने देखिंदैन ।’
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक महेश्वर श्रेष्ठका अनुसार माडीबाट दाङ उपत्यकामा ४० क्यूमेक पानी पठाउँदा सामान्यतया कपिलवस्तु क्षेत्रमा पानी अपुग हुने देखिंदैन । ‘अध्ययन सुरु गर्दा कपिलवस्तुलाई पानी पुग्छ भन्ने थियो,’श्रेष्ठले बिहीबार इकागजसँग भने, ‘तर विस्तृत अध्ययन भएको छैन ।’
विभागका महानिर्देशक राजभण्डारी भने पानी अपुग नहुने ठोकुवै गर्छन् । ‘हाम्रो बुझाईमा यस्तो हुँदैन (कपिलवस्तुलाई पानी नपुग्ने), विस्तृत अध्ययन गर्दैछौं,’ राजभण्डारीले भने, ‘तर नपुग्ने भन्ने नै हुँदैन ।’ राजभण्डारीका अनुसार दाङका करिब दुई दर्जन खोला हिउँदयाममा सुख्खै रहन्छन् । वर्षायामलाई सिंचाइको समस्या पर्दैन, तर हिउँदयाममा ती खोलामा कमिला हिंड्छन् । ‘माडीको पानी हापुरे खोला मिसाउने, त्यहाँबाट अन्य खोलाहरुमा पनि हिउँदयाममा पानी पुर्याउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।’
यता नौमुरेमा मुख्य बाँध बनाई कपिलवस्तुको सुख्खा क्षेत्रमा पानी पुर्याउनुका साथै बडकापथ, प्रगन्ना १, २ र ३ सिंचाइ आयोजना र सिक्टामा पनि नियन्त्रित पानी पठाउन सकिने अध्ययनले देखाएको विद्युत् विकास विभागका सिनियर डिभिजनल इन्जिनियर गोपीप्रसाद साहले बताए । ‘आगामी फागुन महिनाभित्र अध्ययन पूरा गर्ने लक्ष्य छ,’ साहले इकागजसँग भने, ‘रिपोर्ट करिब तयार भइसकेको छ ।’
अध्ययनअनुसार प्यूठानको नौमुरेमा मुख्य बाँध बनाई २१८.३४ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । यसका लागि एक सय ५४ घनमिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । मुख्य बाँध बनाउँदा नौमुरेको करिब १८ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्नेछ ।
नौमुरेबाट बिजुली उत्पादन गरी निस्केको पानीलाई पुनः नियन्त्रण गर्न अर्को बाँध निर्माण हुनेछ । लामाताल भन्ने ठाउँमा निर्माण हुने सहायक बाँध (रिरेगुलेटिङ ड्याम) ले १.२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने साहले बताए । यसबाट ८ मेगावाट बिजुली उत्पादन हुन्छ । यो बाँधको प्राथमिक उद्देश्य पानी नियन्त्रण गरी कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिंचाइलाई पानी पुर्याउनु हो ।
लामातालबाट निस्केको पानीलाई कपिलवस्तुमा पर्ने पूर्व पश्चिम राजमार्गदेखि ५.१७ किलोमिटर सुरनैयाका भन्ने ठाउँमा अर्को विद्युत् गृह निर्माण गरिने साहले बताए । यसबाट ५४.७ मेगावाट बिजुली उत्पादन हुनेछ ।
साहका अनुसार यी संरचना बनाएपछि पूर्वी कपिलवस्तुको २० हजार २ सय ४३ हेक्टर र पश्चिमतर्फत ९ हजार ४ सय ९३ गरी कूल २९ हजार ७ सय ३६ हेक्टरमा सिंचाइ सुविधा पुग्नेछ । सिंचाइ संरचनाले कपिलवस्तुको शिवराज नगरपालिकाको वडा १ देखि ११, कृष्णनगर नगरपालिकाको वडा नं. १ देखि १२, विजयनगर गाउँपालिकाको वडा २ देखि ७, बुद्धिभूमि गाउँपालिकाको वडा नं. ७ र महाराजगञ्ज गाउँपालिकाको वडा नं. १ देखि ११ सम्मका क्षेत्र सिंचित हुनेछ ।
कपिलवस्तुमा नौमुरेबाहेक सिंचाइका लागि अन्य विकल्प छैन । भूमिगत पानीको सम्भावना नभएको कपिलवस्तुलाई सिंचाइ पुर्याउनकै लागि जल तथा शक्ति आयोगले धेरै वर्षअघि यसको अध्ययन गर्दै आएको थियो । नेपालमा राजतन्त्र समाप्त भएपछि भारतले ‘उपहारस्वरुप २५० मेगावाटको जलविद्युत् बनाइदिने’ घोषणा गरेको थियो । उसको घोषणाअनुसार नौमुरे (नदी प्रवाही) आयोजना अघि बढाइएको थियो । भारतको उद्देश्य भालुवाङमा बाँध बनाएर बिजुली उत्पादन गरेको पानी पुनः पश्चिम राप्तीमै छाड्ने थियो ।
यसो गर्दा उसले लक्ष्मणपुर बाँध (ब्यारेज) मा हिउँदयाममा प्रशस्त पानी पुग्छ भन्ने भारतको ठम्याई थियो । भारतीय योजना अनुसार नौमुरे जलविद्युत् अघि बढाउन नेपाली अधिकारीहरू अस्वीकार गर्दै आइरहेका थिए ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_WIGSgfQuyF_dhvxsajcxcgm25cd9nqzyaomv8xjs5hbfhlfnjw1sapzfhbumirxtzxwagon.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया