आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

नवनियुक्त सचिवहरूलाई अर्थमन्त्रालयमा स्वागत

काठमाडौँ – नवनियुक्त सचिवहरूलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ । आइतवार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । सो कार्यक्रममा मन्त्री शर्माले मन्त्रालयअन्तर्गतका तीन जना सचिवहरूलाई आफूहरू पाएको जिम्मेवारी इमान्दार र मर्यादित ढंगबाट सम्पादन गर्न निर्देशन दिए ।

जिम्मेवारीमा रहेका सचिवहरूबाट आ–आफ्नो परिणाममुखी भूमिका निर्वाह हुने उनले विश्वास व्यक्त गरे । उनले राजश्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले यसअघि माग गरेका योजनाहरू यथाशक्य चाँडो पेश गर्नसमेत निर्देशन गए ।

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरूमा सकारात्मक परिणाम दिन सकेमात्र आफूहरूले काम गरेको ठहर्ने भएकोले सोहीअनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजश्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनुपर्ने आवश्यकता औंल्याउँदै संविधानको भावना र वर्तमान सरकारको भिजनअनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरूमा रहेको बताए । 

स्वागत कार्यक्रममा नवनियुक्त राजश्व सचिव कर्णले कर्मचारीतन्त्रमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरूलेसमेत अर्थ मन्त्रालयलाई उदाहरणका रूपमा लिने गरी काम गर्ने गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजश्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’भन्दा ‘होम ग्रोन ट्रेन्ड’का आधारमा काम गरिने बताए ।

नवनियुक्त महालेखा नियन्त्रक अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसका लागि आफूले योगदान गर्ने विश्वास व्यक्त गरे ।आइतबार दुई जना सचिवले जिम्मेवारी पाएसँगै अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीहरूको टीमले पूर्णता पाएको छ ।