मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउवालाई भेट्दै

शुक्रबार बिहान चाक्‍सीबारीमा पौडेल पक्षको छलफल । फाइल तस्‍बिर

काठमाडौँ - क्रियाशील सदस्यता सार्वजिनक गर्न दबाब दिन वरिष्ठ नेता रामचन्‍द्र पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् । शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहदको निवासमा बसेको आफू पक्षीय नेताहरूको बैठकले पार्टी सभापति देउवासँग भेटगरी क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया सुरु गर्न दबाब दिने नेता डा. मिनेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनकाअनुसार बैठकमा पार्टीका जिल्ला सभापतिहरूको माग अनुसार सदस्यहरूको नामावली सार्वजनिकगरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरेको हो । 

‘एकातिर क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ भन्ने विषय छ भने अर्कोतिर समयमै अधिवेशन प्रक्रिया सुरु गरेर जानुपर्नेछ । त्यसैले यी व्यवहारिक कठिनाइहरूलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ.' नले भने, 'त्यहीँ निष्कर्षको आधारमा सभापतिजीसँग वरिष्ठ नेताले भेटेर कुराकानी गर्ने समय लिनु भएको छ । भरे भेटेर कुरा गर्नुहुन्छ । मलाई विश्वास छ–जस्तोसुकै कठिनाईका बाबजुत पनि ती समस्याहरु समाधान गरेर पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनेछ ।'

नेपाली काँग्रेसको महाधिवेशन बैधानिक ढंगले आगामी मंसीर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद अझै समाधान नहुदा यसको वैधानिकतामाथिनै प्रश्न उठन सक्ने भन्दै पौडेल पक्षले क्रियाशील सदस्यताको बाँकी विवाद छिटो टुंगो लगाएर पार्टी महाधिवेशनको प्रक्रिया छिटो टुंगो लगाउन सभापति देउवालाई दबाब दिँदै आएको छ ।