शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रममा फेरि खुल्यो आवेदन

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः खुलेको छ । कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याएको महासंघले जानकारी दिएको छ । 

कोभिड–१९ महामारीका कारण बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेटन नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस भनेर महासंघले आवेदन दिने समय पुनः खुलेको हो । यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरि सकेपछि महासंघबाट इमेल मार्फत सम्पर्क गरिने छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि दिन सकिने छ । यो आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफ्ना सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह समेत गरेको छ । ‍लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसंग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ ।