आरबी लाइपजिगलाई घृणा किन ?
काठमाडौँ : बुन्डेसलिगा धेरै कारणले अन्य ठूला युरोपियन लिगहरूभन्दा फरक छ । त्यसमध्येको एक कारण हो, बुन्डेसलिगा खेल्ने क्लबहरू सञ्चालन हुने शैली । जर्मन फुटबल संघको ५० प्रतिशत प्लस एक नामक नीतिका कारण इंगल्यान्डमा जस्तो कुनै एउटा संस्था वा अर्बपतिले जर्मन क्लबको स्वामित्व लिन सक्दैन । कुनैपनि बुन्डेसलिगा क्लबमा सर्मथकहरूको बहुमत शेयर र भोटिङ अधिकार रहन्छ । यी क्लबहरूमा कुनै पनि व्यवसायिक समूहले लगानी गर्नै नपाउने भन्ने होइन । तर उसको शेयर ४९ प्रतिशत भन्दा धेरै हुनुहुँदैन । ताकि क्लबमा सर्मथकहरू नै निर्णायक रहुन् ।
यति हुदाँहुदै पनि बुन्डेसलिगामा केही अपवादहरू भने पक्कै छन् । जस्तै, बार्यन लेभरकुजन र उल्फसवर्ग । यी क्लबहरूमा ५० प्लस एक नियम लागू भएको छैन । कारण ? लेभरकुजन र उल्फसबर्गमा लगानी गरेका लगानीकर्ताहरू उल्लेखित क्लबहरूसँग कुनै न कुनै हिसाबले २० वर्ष भन्दा बढी समयदेखि आबद्ध छन् । कुनै पनि क्लबमा यदि कुनै व्यवसायिक समूह २० वर्ष भन्दा बढी समयदेखि आबद्ध छ भने, उसले बहुमत शेयर खरिद गर्न निवेदन दिनसक्छ । लेभरकुजनको स्वामित्व जर्मन औषधी कम्पनी बायरसँग छ । सन् १९०४ मा बायरका कामदारहरूले लेभरकुजनको स्थापना गरेका थिए । त्यसको सात वर्षपछि भोक्सवागन मोटर कम्पनीमा काम गर्नेहरूले उल्फसबर्गको स्थापना गरे ।
जर्मन फुटबल सर्मथकहरू बुन्डेसलिगाको यस्तो नियमलाई राम्रो मान्छन् । कुन्डेसलिगालाई अन्य लिगहरू भन्दा फरक बनाउनमा यो नियमले महत्वपूर्ण भूमिका खेलेको उनीहरूको ठम्याँई छ । त्यसो त उनीहरू आफ्नो क्लबको इतिहास र जर्मनीमा रहेको फुटबल वतारणलाई लिएर पनि सधै उत्साहित रहन्छन् ।
यहाँ सम्म बुन्डेसलिगामा केही समस्या छैन । तर जब रेडबुल जस्तो विशाल कम्पनी जर्मन फुटबलमा आइपुग्यो, तब विवाद सुरु भयो । रेडबुलले आरबी लाइपजिगको स्वामित्व लिदाँ ५० प्लस एक नियमको उल्लघंन भएको अधिकांश जर्मनहरूको भनाई छ । रेडबुलको लगानी जर्मन बुन्डेसलिगामा मात्र छैन । अस्ट्रियन लिग खेल्ने साल्जबर्गमा पनि रेडबुलको लगानी छ । सन् २००५ मा रेडबुलले साल्जबर्गको स्वामित्व लियो । अनि क्लबको नामदेखि जर्सीसम्म परिवर्तन गर्यो । धेरैले रेडबुलले साल्जबर्गको इतिहास परिवर्तन गर्न खोजेको भने ।
सन् १९६३ देखि १२ क्लबहरूले मात्र जितेको लिगमा रेडबुलको प्रवेशलाई किन सकारात्मक रुपमा लिईन्थ्यो र? जब की त्यसपछिका वर्षहरूमा रेडबुलको लगानीमा साल्जबर्गले अस्ट्रियन बुन्डेसलिगाको समिकरण नै परिवर्तन गर्ने वाला थियो । तर अस्ट्रियन र जर्मन लिगमा रेडबुलको लगानीलाई अर्को कोणबाट पनि हेर्न सकिन्छ । त्यो भनेको सकारात्मक कोण । किनभने साल्जबर्ग र लाइपजिगमा धेरै राम्रा कामहरू पनि भएका छन् । रेडबुल विश्वकै ठूलो व्यवसायिक समूहहरूमध्येको एक हो । रेडबुलसँग अथाह स्रोतहरू छन् । उसले चाहेको भए, पेरिस सेन्ट जर्मेन (पिएसजी) वा म्यानचेस्टर सिटीले जस्तो नाम चलेका खेलाडीहरू खरिद गर्न सक्थ्यो । तर रेडबुलले फरक बाटो चुनेको छ ।
लाइपजिग र साल्जबर्गले युवा प्रतिभाहरू पहिचान गर्ने, उनीहरूलाई मौका दिने, एकेडेमीमा लगानी गर्ने, अभ्यास केन्द्रहरूलाई सुविधा सम्पन्न बनाउने लगायतका दिर्घकालिन योजनाहरू बनाएर काम गरेका छन् ।
लाइपजिग र साल्जबर्गले युवा प्रतिभाहरू पहिचान गर्ने, उनीहरूलाई मौका दिने, एकेडेमीमा लगानी गर्ने, अभ्यास केन्द्रहरूलाई सुविधा सम्पन्न बनाउने लगायतका दिर्घकालिन योजनाहरू बनाएर काम गरेका छन् । त्यति मात्र होइन, रेडबुलका क्लबहरूमा युवा प्रशिक्षकहरूलाई उमेर समूहदेखि सिनियर टोलीहरूलाई प्रशिक्षण गराउने जिम्मेवारी दिनेदेखि विश्वभर नै ‘स्काउट’हरू खटाउनेसम्मको काम भएको छ । रेडबुल अन्र्तगतका क्लबहरूले विश्वका विभिन्न कुनाहरूबाट पहिचान गरेर ल्याएको खेलाडीहरूलाई स्थापित नाममा बदलेर, ठूला क्लबलाई बेचेका छन् । उदाहरणका लागि, लाइपजिग केही वर्षअघि मात्र नेबी केइटालाई लिभरपुललाई ठूलो रकममा बेच्न सफल भयो ।
हालको लाइपजिगको टिममा धेरै युवा खेलाडीहरू छन् । जसलाई क्लबले उनीहरू सानै छदाँ पहिचान गरेर आफ्नो एकेडेमीमा ल्याएको हो । जस्तै, डेनमार्कका युसुफ पौउलसन । डेनिस स्ट्राइकर सन् २०१३ मा लाइपजिग आएका हुन् । जतिबेला, लाइपजिग जर्मन फुटबलको तेस्रो श्रेणीमा थियो । सानै उमेरमा लाइपजिग आइपुग्ने अर्का खेलाडी हुन् राइट व्याक लुकास क्लोसटरम्यान । जसलाई लाइपजिगले दोस्रो श्रेणीको बोचुमबाट अनुबन्धन गरेको हो । अस्ट्रियन मिडफिल्डर मार्सेल साबिट्जर सन् २०१४ मा लाइपजिग आउँदा २० वर्षको थिए ।
स्वीडेनका एमाइल फोर्जबर्ग सन् २०१३ बाट २०१५ सम्म माल्मोसँग आबद्ध थिए । जहाँ उनले लिग तथा अन्य महत्वपूर्ण घरेलु प्रतियोगिताहरू पनि जिते । माल्मोका लागि गरेको प्रदर्शनका आधारमा फोर्जबर्गलाई युरोपका ठूला क्लबहरूले आँखा लगाए । तर उनको नयाँ यात्रा लाइपजिग तर्फ सोझियो । सन् २०१५ मा फोर्जबर्गले लाइपजिगबाट खेल्ने निर्णय गर्दा धेरैले उनलाई किन दोस्रो श्रेणीको क्लब छनौट गरेको भन्ने प्रश्न गरे । त्यसो त, लाइपजिगका कप्तान विल्ली ओरबान पनि जर्मन फुटबलको तेस्रो श्रेणीबाट आएका हुन् । अनि लेफट् व्याक मार्सेल हाल्सटेनर्बेग लाइपजिग आउनुअघि बोरुसिया डर्टमन्डको उमेर समूहको टिममा खुम्चिएका थिए ।
उल्लेखित खेलाडीहरू लाइपजिगका लागि महत्वपूर्ण त छदैछन् आ-आफ्ना राष्ट्रिय टिमका लागि पनि प्रमुख रोजाइको बनेर खेल्ने मौका पाइरहेका छन् । लाइपजिग नआइपुगेको भए यी खेलाडीहरूले राष्ट्रिय टिमका लागि खेल्ने मौका पाउँथे त ? क्लोसटरम्यान र हाल्सटेनर्बेग हाल जर्मन राष्ट्रिय टिमका प्रशिक्षक योकिम लोका प्रिय रोजाईहरू हुन् । उनीहरू यदि लाइपजिग नआइपुगेको भए शायद राष्ट्रिय टिमको नजरमा पर्दैन थिए । खेलाडीहरू त युवा छदैछन्, लाइपजिगमा प्रशिक्षक पनि युवा नै छन् । गत वर्ष लाइपजिग आएका जुलियन नागेल्सम्यान ३३ वर्षका मात्र छन् । उनले लाइपजिगलाई थप आकर्षक फुटबल खेलाइरहेका छन् । जारी लिगमा लाइपजिग लिग लिडर बार्यन म्युनिख भन्दा तीन अंकले मात्र पछि छ । युवा नागेल्सम्यानले लाइपजिगलाई जारी सिजनको लिग उपाधीको बलियो दाबेदार बनाएका छन् ।
लाइपजिग सन् २०१६-१७ सिजनमा बुन्डेसलिगामा बढुवा हुदाँ क्लबको प्रशिक्षक थिए, राल्फ हासनहुटेल । अनि स्र्पोटिङ निर्देशक राल्फ रागनिक । सन् २०१२ मा लाइपजिग आएका रागनिकले क्लबको सफलताकालागि जग बसाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
लाइपजिगलाई किन सकारात्मक तवरले हेर्ने भन्ने बहस बारम्बार हुने गरेको छ । लगानिकर्ता धनी भएपनि लाइपजिगले बुन्डेसलिगामा ठूलो रकम खर्च गरेर खेलाडी अनुबन्धन गर्ने गरेको छैन । लाइपजिगको यो पाटोलाई सकारात्मक रूपमा हेरिनुपर्ने तर्क नउठ्ने होइन । त्यसो त लाइपजिगले पिएसजीले जस्तो आफु खेल्ने लिगमा प्रतिद्वन्द्वी क्लबहरूका स्थापित खेलाडीहरूलाई खोस्ने गर्दैन ।
बरु ५० प्लस एकको हिमायती बार्यन म्यूनिखले खेलाडी खरिदमा लाइपजिगको भन्दा धेरै खर्च गरिरहेको छ । बार्यन आफैमा बलियो आर्थिक स्रोत भएको क्लब हो । पिएसजीले लिग वानलाई जसरी एक पक्षीय बनाएको छ, त्यसरी नै बार्यनले पनि बुन्डेसलिगामा एक पक्षीय लिग बनाउने सम्भावना रहन्थ्यो । तर लाइपजिगको उपस्थितीमा बुन्डेसलिगालाई बार्यनले मात्र कब्जा जमाउने अवस्था छैन । अनि लाइपजिगले प्रतिनिधित्व गर्ने पूर्वी जर्मनीमा कुनै ठूला क्लबहरूको उपस्थिती थिएन । त्यस कारण यो क्षेत्रले बुन्डेसलिगामा लामो समयसम्म पनि आफ्नो प्रतिनिधि पाएन । हर्था बर्लिन र युनियन बर्लिन जस्ता क्लबहरूले गत सिजन मात्रै बुन्डेसलिगामा बढवा पाएका थिए । तर यी क्लबहरू पनि लामो समयसम्म बुन्डेसलिगामा टिक्ने अवस्थामा छैनन् । त्यसकारण पनि लाइपजिगको पूर्वी जर्मनीमा उपस्थिती जर्मन फुटबलका लागि फलदायी हो ।
पिएसजीले लिग वानलाई जसरी एक पक्षीय बनाएको छ, त्यसरी नै बार्यनले पनि बुन्डेसलिगामा एक पक्षीय लिग बनाउने सम्भावना रहन्थ्यो । तर लाइपजिगको उपस्थितीमा बुन्डेसलिगालाई बार्यनले मात्र कब्जा जमाउने अवस्था छैन ।
रेडबुलले अस्ट्रियामा साल्जबर्ग जस्तो ठूलो क्लबको स्वामित्व लिए पनि जर्मनीमा भने उसले पाँचौ श्रेणीको क्लबमाथि लगानी गर्यो । एसएसभी मार्करान्सटाडलाई आरबी लाइपजिगमा परिणत गर्यो । अनि सहरका ६ लाख भन्दा धेरै मानिसहरूले बुन्डेसलिगामा सर्मथन गर्नका लागि क्लब पाए । यस अर्थमा रेडबुलले स्थानिय फुटबल सर्मथकहरूको मन दुखाएन । उल्टै सर्मथन पायो ।
सन् १९८७ मा लाइपजिग क्षेत्रकै लोकोमोटिभ लाइपजिगले युरोपियन क्लब फुटबलकै ‘कप विनर्स कप’ को फाइनलमा आयाक्सको सामना गरेको थियो । त्यसबेलाको आयाक्समा स्थापित डच खेलाडीहरू थिए । अहिले पनि त्यस क्षेत्रका पाका सर्मथकहरू त्यसबेलाको आयाक्स टिम र फाइनल खेललाई याद गर्छन् ।
त्यसबेलाका सर्मथकहरूले ठूला युरोपियन क्लबहरूको खेल हेर्ने मौका पाउँदा अहिलेको पुस्ताले त्यस्तै मौका किन नपाउने ? प्रश्न उठ्छ । त्यसकारण पनि आरबी लाइपजिग बुन्डेसलिगामा रहनु भनेको लाइपजिग क्षेत्रका फुटबल सर्मथकहरूले ठूला युरोपियन क्लबहरूको खेल हेर्ने मौका पाउनु हो । यस सिजन मात्रै पनि आरबी लाइपजिगका सर्मथकहरूले आफ्नो टिमले म्यानचेस्टर युनाइटेड र पिएसजी जस्ता स्टारहरूले भरिएको क्लबहरूसँग खेलेको हेर्ने मौका पाए ।
लाइपजिगको आलोचना हुनुअघि क्लबले फुटबलमा गरेको योगदानको पनि विश्लेषण हुन जरुरी छ । रेडबुलले सानो क्लबलाई जर्मनीकै शक्तिमा रुपान्तरण गर्यो । तर यही परिपेक्ष्यमा हामीले कतारी सरकारले पिएसजी, इमिरेतीले म्यानचेस्टर सिटीलाई, अमेरिकी अर्बपतिले म्यानचेस्टर युनाइटेडलाई कसरी सञ्चालन गरिरहेका छन् भनेर बुझ्न जरुरी छ । यदी यी क्लबहरूको सञ्चालन प्रक्रियामा चिक्त बुझेको छ भने लाइपजिगको सञ्चालनमा कुनै गुनासो राख्नु हुदैन । कुनै पनि फुटबल क्लबमा लगानी गरेर लिगलाई प्रतिस्पर्धात्मक बनाउँदा धेरै नकारात्मक हुन जरुरी छ र, शायद छैन । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूको सहयोगमा)

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया