मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

नामावली नटुङ्गीदैं निर्वाचन समितिले तोक्यो ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि

काठमाडौं - नेपाली कांग्रेसको निर्वाचन समितिले क्रियाशील सदस्यताको नामावली नबुझ्दै ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि निक्यौल भइसकेको र ‘माइन्यूट’ गरेर पठाउन मात्रै बाँकी रहेको एक सदस्यले बताए । 

‘कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ३८ जिल्लामा विवाद नरहेको भन्दै बुझाउन खोज्‍नुभएको थियो । केही समस्याका कारण निर्वाचन समितिले बुझेन,’ ती सदस्यले भने, ‘ती जिल्लाको नामावली बुझ्दा वित्तिकै केन्द्रीय प्रतिनिधि खटाउन हामीले नाम निर्क्याैल गरिसक्यौं । बुझ्दा वित्तिकै ‘माइन्यूट’ गरेर पठाउँछौं ।’

कांग्रेसले १८ भदौका लागि वडा अधिवेशनको मिति निर्धारण गरेको छ । एक सातामात्रै बाँकी रहँदासम्म पनि सदस्यताको नामावली निर्वाचन समितिलाई नबुझाएपछि कतै यो पटक पनि अधिवेशन नहुने त होइन भन्ने आशंका नेता कार्यकर्तामा व्याप्त छ । 

त्यस्तो अवस्थामा नामावली हात नपर्दै निर्वाचन समितिले ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि निर्धारण गरेको हो । तर ‘माइन्यूट’ नगर्दै सार्वजनिक गरेमा विवाद हुन्छ भन्दै सार्वजनिक गरिएको छैन । 

केन्द्रीय प्रतिनिधि छनोटमा पनि वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहले असन्तुष्टि जनाइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । महामन्त्री खड्काले बुधबार साँझ ३८ जिल्लाको नामावली निर्वाचन समितिलाई बुझाउन खोजेका थिए । तर निर्वाचन समितिले जिल्ला सभापतिहरू आन्दोलनमा रहेको र पार्टीभित्र सदस्यताका विषयमा सहमति बनिनसकेको भन्दै पूरा नामावली मात्रै बुझ्ने जानकारी गराएको थियो । 

कांग्रेसको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला सभापतिहरू नामावली सार्वजनिक गर्नु पर्ने माग राखेर पार्टी कार्यालयमा धर्नामा बसेको र त्यो धर्नालाई पदाधिकारीसहितका शीर्ष नेताले समर्थन जनाएकाले अपूरो नामावलीको सूची बुझ्‍न नसक्ने जानकारी पार्टी नेतृत्वलाई गराएको बताए ।

‘सदस्यताको विवाद सकिएको छैन । जिल्ला सभापतिहरु सदस्यताको नामावली सार्वजनिक गर्न माग गर्दा पार्टी केन्द्रीय कार्यालयमा धर्नामा हुनुहुन्छ । त्यसलाई शीर्ष नेताहरुले नै समर्थन गर्नुभएको छ,’ समिति सदस्य घिमिरेले भने, ‘यस्तो अवस्थामा अपूरो नामावली हामीले बुझ्न सक्दैनौ भनेर नेतृत्वलाई जानकारी गराएका छौं ।’

अनशनमा बसेका जिल्ला सभापतिहरूले नामावली सार्वजनिक गर्न पर्ने माग गर्दै आफूहरु अनशनमा रहेकाले अपूरो र सार्वजनिक नगरिएको नामावलीको सूची नबुझ्‍न निर्वाचन समितिलाई आग्रह गरेका थिए ।

जिल्ला सभापतिहरुको अनशनमा ऐक्यबद्धता जनाउन नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराल, दीपक गिरीलगायत पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । 

यता संस्थापन भने नेता पौडेल समूह र सो समूह निकट जिल्ला सभापतिहरूको कुरा सुनेर समितिले नामावली नबुझेको भन्दै निर्वाचन समितिसँग रुष्ट भएको छ । महामन्त्री खड्काले आफूले नामावली बुझाउँदा नबुझेको भन्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् ।

देउवाले निर्वाचन समिति संयोजक महादेव यादवलाई टेलिफोन गरेर टुंगिएको जति बुझेर अधिवेशन सुरुवात गर्न भनेका छन् ।