प्रदेश-२ का आन्तरिक मामिलामन्त्रीले नियमविपरीत बुझे बैठक भत्ता
महालेखा कार्यालयलाई बेवास्ता गर्दै कार्यक्षेत्र बाहिर खेलकुदमा लाखौँ खर्च

जनकपुरधाम- कोभिड-१९ महामारीका बेला पनि प्रदेश-२ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्रीले नियमविपरीत लाखौँ भत्ता लिएको र लाखौँ रुपैयाँ अनियमित रूपमा खर्च गरेका देखिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको खर्च आय-व्यय विवरण अनुसार, गत आर्थिक बर्ष २०७७÷०७८ को कोभिडकालमा पूर्वमन्त्रीद्वय ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोजसिह कुशवाहाले बैठक र भ्रमण भत्ता लिएका छन् । मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले बैठक भत्तामा १२ लाख ६४ हजार, भ्रमण वापत २२ लाख १३ हजार र अन्य सुविधावापत ५३ लाख ८८ हजार रूपैया बुझेका छन् ।
२०७६/७७ मा मन्त्रालयका पदाधिकारीले ४६ लाख ४० हजार रुपैयाँ कानुन मस्यौदा निर्माण बैठकको नाममा बुझेका थिए । महालेखा परीक्षकको कार्यालयले आफूले सम्पादन गर्न बैठकमा भत्ता लिन नपाउने कार्यविभाजन नियमवाली २०७४ मा व्यवस्था रहेको हुँदा बैठकको नाममा भत्ता नलिन भनी सचेत गराएको थियो । तर त्यसलाई बेवास्ता गर्दै मन्त्रालयका पदाधिकारीहरूले बैठक भत्ता बुझेका हुन् ।
त्यस्तै, मन्त्रीद्वयले तलब वापत १६ लाख ५८ हजार, पानी तथा बिजुलीमा १ लाख ८८ हजार, सञ्चार महसुल २ लाख ८३ हजार, इन्धनमा १२ लाख ४० हजार, कार्यालय प्रयोजनका लागि इन्धन वापत ११ लाख ४४ हजार, सवारी साधन मर्मतमा २४ लाख ९६ हजार र मसलन्द तथा कार्यालय सामग्रीमा २८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् ।
निजामती कर्मचारीको पोशाकमा समेत २ लाख ८० हजार रुपैयाँ खर्चिएको छ । समितिको बैठक भत्ता शीर्षकमा एक लाख ४३ हजार, मूल्याङ्कन समितिको बैठक भत्तामा एक लाख ७१ हजार, निजामती कर्मचारीले पाउने भत्तामा ८ लाख २८ हजार रूपैया खर्च गरिएको छ ।
मन्त्रालयले कार्यक्षेत्र बाहिर पनि खेलकुदका नाममा रकम खर्च गरेको छ । कार्यविभाजन नियमावली अनुसार, मन्त्रालयले खेलकुदमा रकम खर्च पाउँदैन । तर मन्त्री यादवले मन्त्रिपरिषद्बाट निर्णय गराइ ‘शान्तिका लागि खेलकुद’, गोष्ठी शीर्षकमा संघ-संस्थाहरूलाई ४२ लाख २५ हजार रुपैया बाँडेको भेटिएको छ ।
यादवले खेलकुदका लागि २९ लाख १७ हजार, १३ लाख ७ हजार रुपैयाँ गोष्ठीमा खर्च गरेका हुन् । महालेखा परीक्षकको कार्यालय कार्यक्षेत्र भन्दा बाहिर खेलकुदको नाममा अनावश्यक खर्च नगर्न भनिरह्यो । तर आ.ब. २०७६/७७ मा समेत २३ लाख ८४ हजार रुपैयाँ शान्तिका लागि खेलकुद्को नाममा मन्त्रिपरिषद्को निर्णयबाट खर्च गरिएको थियो ।
त्यसभन्दाअघि २०७५/७६ मा समेत आन्तरिक मामिला मन्त्रालयले शान्तिका लागि खेलकुदको नाममा ६ लाख ६० हजार रुपैयाँ खर्चेको थियो । महालेखाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदनमा कार्यक्षेत्रभन्दा बाहिर खर्च नगर्न सचेत गराउँदै आए पनि मन्त्री यादवले त्यसलाई बेवास्ता गरिरहे ।
आ.व. २०७७/७८ मा मन्त्रालयले ‘सुरक्षित बेटी अभियान’ कार्यक्रममा २९ लाख ५१ हजार, दुर्व्यसनमुक्त युवा अभियानका लागि २९ लाख ५१ हजार र विद्यार्थीहरूका लागि भित्ते पत्रकारिता गोष्ठीमा ४७ लाख ७८ हजार रुपैयाँ खर्चेको छ ।
सुरक्षित बेटी अभियान र दुर्व्यसनमुक्त युवा अभियानमा एउटै व्यक्तिलाई कार्यक्रम संयोजक बनाइ रकम खर्चेका थिए । अर्कातिर पत्रकारलाई दिनुपर्ने तालिम विद्यार्थीहरूको नाममा मन्त्री आबद्ध पार्टी जसपाका कार्यकर्ताहरूलाई सहभागी गराउँदै रकम खर्चेपछि आलोचना भएको थियो ।
मन्त्रालयले ३० करोड रुपैयाँ बजेट रहेकामा कुल ११ करोड ९४ लाख रुपैयाँ मात्र खर्च गर्न पाएको छ । बाँकी १८ करोड ६ लाख १७ हजार बाँकी बजेट फ्रिज भएको छ ।

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

विपद्मा भनसुनका आधारमा सवारी साधन चलाउन दिए कारवाही हुन्छः गृहमन्त्री लेखक

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

प्रतिक्रिया