मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

पुनर्निर्माणबाट पन्छिँदै प्राधिकरण, मन्त्रालय र विभागलाई सुम्पियो जिम्मेवारी

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको बाँकी जिम्मेवारी अन्य निकायलाई सुम्पिएको छ । ०७२ वैशाखको महाभूकम्पपछि प्राधिकरणले गर्दै आएको पुनर्निर्माणको बाँकी काम अन्य मन्त्रालय, विभाग र निकायहरूलाई हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री एवम् प्राधिकरण निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको निर्देशक समितिको २० औं बैठकले भूकम्पपीडितका घरहरूको पुनर्निर्माणको जिम्मेवारी अन्य निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री देउवाले प्राधिकरणले पुनर्निर्माणमा गरेको उपलब्धी सन्तोषजनक भएकोमा खुसी व्यक्त गरेको प्राधिकरणले जनाएको छ ।

बैठकमा प्रतिपक्षी नेकपा एमाले नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पुनर्निर्माणका बारेमा आ–आफ्नो धारणा राखेका छन् ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, मुख्यसचिव शंकरदास वैरागी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले पुनर्निर्माणका विषयमा देखिएका उपलब्धीबारे बोलेका छन् । बैठकमा निर्देशक समिति, पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय तथा आयोग र प्राधिकरणका कार्यकारी समितिका सदस्यहरूलगायतको उपस्थिति थियो । ०७२ को महाभूम्पपछि पाँच वर्षको कार्यकाल तोकेर गठन भएको प्राधिकरणले सात वर्ष बितिसक्दा पनि पूनर्निर्माणको सबै काम सम्पन्न गरेको छैन ।     

यी मन्त्रालय, विभाग र निकायलाई दिइयो जिम्मेवारी :

–व्यक्तिका घर तथा बस्ती विकासतर्फको रकम र प्राविधिक व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले गर्ने,  

–सरकारी भवन, स्वास्थ्य संस्था र गुम्बा पुनर्निर्माणको जिम्मेवारी पनि यही विभागले गर्ने,  

–विपद् जोखिम न्यूनीकरण, कानुनी एवम् नीतिसम्बन्धी काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्ने, 

–विद्यालय तथा विश्वविद्यालय भवन पुनर्निर्माण शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाइले गर्ने,

–पुरातात्तिवक सम्पदा निर्माण सुरु नभएका एक सय वर्षभन्दा पुराना गुम्बाको पुनर्निर्माण पुरातत्व विभागले गर्ने, गुम्बा व्यवस्थापन समितिको समन्वयमा स्थानीय पूर्वाधार विभागले गर्ने,  

–सडक तथा पुलको पुनर्निर्माण सहरी विकास मन्त्रालय तथा पुरातत्व विभागले गर्ने,

–धरहरा, रानीपोखरी, सिंहदरबार एवम् नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारलगायतका संरचनाहरूको पुनर्निर्माण तथा लेखा परीक्षणलगायत कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय संरचनामा रहने जनशक्तिले गर्ने,

–हस्तान्तरण गर्ने कामहरूको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय संरचनामा रहने जनशक्तिले गर्ने ।