आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

आयोगमा हस्ताक्षर सनाखत : झलनाथको स्वीकार, रेशमको अस्वीकार

काठमाडौं - निर्वाचन आयोगले हस्ताक्षर सनाखतका लागि आयोगको कार्यालयमा नपुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको हस्ताक्षर स्वीकार गरेको छ भने रेशमलाल चौधरीको हस्ताक्षर अस्वीकार गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खनालको हस्ताक्षर स्वीकार गरिएको र चौधरीको अस्वीकार गरिएको जानकारी दिए । 'आयोगमा झलनाथ खनालले दूतावासमार्फत गरेको हस्ताक्षर सनाखत भएको छ । रेशमलाल चौधरीको हस्ताक्षर सनाखत भएन,' प्रवक्ता श्रेष्ठले इकागजसँग भने । 

 नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता खनालको हस्ताक्षर नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न दिइएको निवेदनमा आयोगले बुधबार केन्द्रीय सदस्यहरूलाई सनाखत गर्न बोलाएको थियो । तर खनाल स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेकाले सनाखतका लागि आयोगमा कार्यालयमा आउन असमर्थ थिए ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सांसद चौधरीको हस्ताक्षर सनाखत नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । महन्थ ठाकुर समूहले आयोगमा दिएको दल दर्ता निवेदनमा नै चौधरीको नाम समावेश नभएकाले उनको हस्ताक्षर सनाखत नभएको उनले बताए ।

दुई भदौमा सरकारले दल विभाजन अध्यादेश ल्याएपछि महन्थ ठाकुरले दल दर्ताका लागि दिएको निवेदनमा चौधरीको नाम समावेश थियो । तर आयोगले भदौ ४ गते अध्यादेश अनुसार राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेपछि पुन: दल दर्ता निवेदन माग गर्दा भने चौधरीको नाम नराखिएकाले सनाखत नभएको प्रवक्ता श्रेष्ठले बताए ।