अपाङ्गमैत्री पर्यटन प्रवर्धन आवश्यक

अपाङ्गमैत्री पर्यटन प्रवर्धन आवश्यक
काठमाडौँ– अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को एक अध्ययनले नेपालका पर्यटन/आतिथ्यता सेवा प्रदायक व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके विश्वव्यापी रुपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवर्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदर समेत उकास्न मद्दत पुग्ने औंल्याएको छ ।
‘सबैका लागि खुल्ला : नेपालका होटेलहरुमा अपांगता भएका व्यक्तिहरुको पहुँच सम्बन्धी एक सर्वेक्षण’ शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न सके देशको अर्थतन्त्रको विस्तारमा मद्दत पुग्ने बताएको हो ।
यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो ।
आईएफसीले उक्त अध्ययनका लागि देशको मुख्य–मुख्य शहरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी/व्यवसायीलाई समावेश गरेको बताएको छ । जसअनुसार अध्ययनमा सहभागी भएका ९५ प्रतिशत होटल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणावारे आफूहरु जानकार रहेपनि त्यस किसिमका पूर्वाधार निर्माणगरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको प्रतिकृया दिएका छन् ।
आईएफसीको अध्ययनले अहिले संचालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिहरुको आवतजावतका लागी लिफ्ट र भिराला र्याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहिन पाहुनाको सहयोगका लागी संकेत चिन्ह राखेको देखाएको छ । बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिन्हको प्रयोग गरेका छैनन् ।
अध्ययनले ९ प्रतिशत होटलका कर्मचारीहरु पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमताभएका पाहुनावारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्ग अतिथिका लागी अतिरिक्त ह्लिचेयरको व्यवस्था रहेको देखाएको छ ।
साथै अध्ययनले नेपालका अधिकांश होटलहरुले व्यवसायीक प्रयोजनका लागी पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचनाहरु दुर्गम स्थानमा रहेका र तिनमा अपाङ्गमैत्री सेवासुविधा समेत नहुने गरेको र त्यस्ता अपायक स्थानमा अपाङ्गता भएका पाहुनाहरु पनि एकदमै कम जाने गरेको उल्लेख गरेको छ ।
त्यतिमात्र नभई यस अध्ययनमा समावेश भएका अधिकांश होटलले अपाङ्ता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला र्याम्प निमार्ण गर्न, ह्विलचेयर खरिद गर्न तथा अन्य पूर्वाधार बनाउन अतिरिक्त लगानी चाहिने र त्यस्तो लगानी नै समावेशी पर्यटन प्रवर्धनको बाधक रहेको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको चर्चा गर्दै आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यहरूमा अपाङ्ग, अशक्त वा अरु सबै उमेर समूहको पहुँच विस्तार गर्नसके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छन् । उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चितता सँगै व्यवसायिक अर्थ राख्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनको अध्ययनले पनि संसारभरका करिब एक अर्ब मानिसहरू कुनै न कुनै प्रकारको अपाङ्ताबाट प्रभावित हुने गरेका देखाएको छ । नेपालका अपाङ्ग अधिकारकर्मीले शारीरिक सीमितता भएका र अपाङ्ता भएका व्यक्तिले पनि संसारभरका पर्यटकीय गन्तब्य भ्रमण गर्ने गरेका र यस्ता पर्यटकको सुविधाको लागी होटलहरुले विशिष्ट खालको पूर्वाधार तयार गर्ने गरेको बताएका छन् । ‘विश्वका आकर्षक पर्यटकीय गन्तव्यस्थलमा सुलभ पहुँचका पूर्वाधार भएका होटल हुन्छन् जसले स्वदेशी तथा विदेशी पाहुनालाई सेवा दिन्छन् र यस्ता ठाउँमा पर्यटकको चाप हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले अहिले वर्षेनी रुपमा विश्वभरबाट देशबाट करिब २००० अपाङ्ग पर्यटक नेपाल भ्रमण गर्न आउने गरेका भन्दै सुलभ पर्यटनका सुविधा र अपाङ्गमैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको संख्या सहजै बढेर १०,०० सम्म पुग्नसक्ने दावी समेत गरेका छन् ।
होटल एशोसिएसन नेपालकी अध्यक्ष सृजना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागी नयाँ प्रयोग हुने भएपनि पर्यटन व्यवसायीले अपाङ्मैत्री पूर्वाधार तयार गरी यसबाट प्रशस्त फाइदा लिनसक्नेमा आफू विस्वस्त रहेको बताएकी छन् ।
‘पर्यटन बजार विस्तार हुनेगरी हाम्रा होटलमा सुविधा थप्न हामी व्यवसायीहरु तत्पर नै छौं, थप छलफल गरेर नितीगत रुपमै सुलभ पर्यटनको अवधारणालाई कार्यान्वयनमा लैजाँदा ठिक होला भन्ने हो,’ उनले भनीन् । त्यसैगरी नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवशरबाट फाइदा लिनुपर्नेमा जोड दिए ।
‘सहकार्यबाटै सुलभ पर्यटनका लागी अवशर प्राप्त गर्न र ति अवशरले दिने प्रतिफल लिन सकिन्छ जसका लागी सरकारले नितीगत सहयोग र अरुले आवश्यकता अनुरुपका पूर्वाधार निर्माण गर्न सकिन्छ,’ उनले भने ।
युएनडीपीका सहआवासीय प्रतिनिधी बर्नर्ड कोकोले कोरोना कहरले अर्थतन्त्र थिलोथिलो परेका बेला त्यसलाई पहिलेको ठाउँमा पुर्याउने तत्परतासंगै सुलभ पर्यटनको ढोका खोल्नेगरी अध्ययन अनुसन्धान हुनु सकारात्मक भएको भन्दै प्रशंशा गरेका छन् ।
अनुसन्धानमा सक्रिय पत्रकार गजेन्द्र बुढाथोकीले अर्थतन्त्र सकारात्मक बाटोमाजान पर्यटन विस्तार हुनुपर्ने र त्यसका लागी होटल तथा रेष्टुरेष्टमा अपाङ्गमैत्री पूर्वाधार हुनुपर्ने बताए ।
‘सक्रिय जीवनबाट अवकाश पाएका, शारिरिक रुपमा अपाङ्ग भएका, होचापुड्काले अरुको तुलनामा बढी खर्चगर्छन् त्यसैले यस्तो समुहलाई आवश्यक पर्ने सेवा विस्तार गर्न सके त्यसले पर्यटन क्षेत्र फस्टाउन सक्छ,’ उनले भने ।
राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेतले अपाङ्गहरुले नेपालका होटलमा सुलभ सेवा र आवश्यक पूर्वाधार नभएकै कारणले असमान व्यवहार भोग्नुपरेको बताए ।
अध्ययनले यस्तो पर्यटन प्रवर्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायले सहकार्य गरी विश्वव्यपी रुपमा अभ्यासमा आएको पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न अपाङ्गता भएका व्यक्तिसमेतलाई सहभागी गराई त्यस अनुकुलको नीति निमार्ण गर्न सुझाएको छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया