शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्र ढकालको राजीनामा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा दिएका छन् । ढकालले कार्यव्यस्तताका कारण राजीनामा दिएको र महासंघ छिट्टै नयाँ व्यक्तिलाई सञ्चालक बनाएर पठाउने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । 

धितोपत्र बोर्डको सञ्चालक समितिमा रहेर पनि बुक बिल्डीङमार्फत् सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर किनेकोमा उनीमाथि स्वार्थको द्वन्द्वको प्रश्न उठाइएको थियो । 

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका थिए । साउदलाई श्रीमति सुशीला कुमारी बोहोराको नाममा बुक बिल्डिङको क्रममा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर देखिएको थियो ।

त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको छोरी रेबिका ढुंगानाको नाममा पनि १० हजार कित्ता नै सेयर देखिएको थियो । तर उनले विवाहीत छोरीले सेयर किन्दा आफू जवाफदेही हुन नपर्ने भन्दै संसदको अर्थ समितिले सोधेको प्रश्नमा स्पष्टीकरण पेस गरेका थिए । ढुंगाना र साउदको विषयलाई लिएर छानबिन गर्न अर्थ मन्त्रालयले कानुन हेर्ने सहसचिव पाराश्वर ढुंगानाको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ ।