भीम रावल-घनश्याम भुसाललगायतले माफी माग्नुपर्छ !
अहिलेसम्म भन्दै आएको प्रतिगमन बालकोटको एकै भेटमा कसरी सच्चियो ? जनतालाई जवाफ दिनु पर्दैन ?

काठमाडौँ - तत्कालीन नेकपा विवाददेखि नै नेकपा एमाले दुई धारमा विभाजित थियो । आन्तरिक अन्तरसंघर्षबाट सुरु भएको विवाद समयक्रमसँगै बढ्यो । नेताहरूको दूरी बढ्दै गयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि एक अर्काविरुद्ध संघर्षमै उत्रिए एमालेजनहरू । विघटनविरुद्ध आम हड्तालसम्मका कार्यक्रम गरेका नेताहरूले त्यति बेला सार्वजनिक मन्चमा गरेका भाषण, सञ्चार माध्यममा दिएका अभिव्यक्ति स्मरणीय छन् ।
एक अर्काविरुद्ध प्रयोग/प्रहार गरिएका शब्दको ओज घटेको छैन । विघटनलाई अलोकतान्त्रिक, असंवैधानक र निरंकुशतावादी कदमको संज्ञा संस्थापनइतरले दिए । मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजेको, राज्यसत्ताको चरम दुरुपयोग गरेकोलगायतका आरोप उनीहरूले केपी शर्मा ओलीमाथि लगाए । एक अर्काविरुद्ध शब्द वाण प्रहार गर्ने मात्रै होइन परे भौतिक रूपमै भिड्न तयार थिए उनीहरू ।
शक्ति प्रदर्शनको होडबाजीमा दुवै पक्ष उत्रिए । परिणाम प्रतिनिधि सभा पुनःस्थापना भयो । प्रतिगामी कदमको संज्ञा दिएको एक पक्षले पुनःस्थापनामा लड्डु बाँडे । मुख मिठ्याए । राजनीतिक रूपमा संस्थापनको हार भयो । संघर्षमा उत्रेकाहरू रमाए ।
सयमक्रमसँगै पहिलो पटक ब्युँतिएको प्रतिनिधि सभामा ओलीले दोस्रो पटक कुदृष्टि लगाए । त्यसअघि नै तत्कालीन नेकपा बदर भइसकेको थियो । एमाले र माओवादी ब्युँतिसकेका थिए । पार्टी अलग्गिए पनि मन अलग्गिएको थिएन । दोस्रो विघटनविरुद्ध पनि उनीहरू खरो रूपमै उत्रे । ओलीविरुद्धको संघर्षमा अग्रपङ्तिमा थिए दाहाल-नेपाल । उनीहरू पछि पछि थिए, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायतहरू । जति चर्को ओलीविरुद्ध दाहाल-नेपाललले बोले त्यो भन्दा दुई गुणा बढाएर भीम-घनश्यामहरूले भाषण गरे । ‘शब्द कोषबाट शब्द खोजीखोजी’ ओलीमाथि प्रहार गरे ।
पहिलोभन्दा दोस्रो विघटन विशेष रह्यो । संघर्ष र परिणाम पनि । पहिलो पटक व्यवस्थापिकाका निर्वाचित सांसदहरू सर्वोच्च अदालतमा लाम लागे । पुनःस्थापना माग गरे । अग्रपङ्तिमा उनै थिए माथि उल्लेखितहरू । अघिअघि दाहाल-नेपाल, पछिपछि भीम-घनश्यामहरू । उनीहरूले परमादेश मागे । अदालतले दियो । विघटन दोस्रो पटक असफल भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । जुन उनीहरूको माग दाबी थियो । ओली बालुवाटारबाट बालकोट पुगे । भीम-घनश्यामहरू फेरि जिते ।
दोस्रो विघटन र यसले ल्याएका परिणाम एमालेका लागि खास रह्यो । ऐतिहासिक रह्यो । दोस्रो विघटनपछि ऐतिहासिक घटना घटे । आफ्नै पार्टीका सांसदले आफ्नै पार्टीको सरकार हटाएर विपक्षीलाई विश्वासको मत दिएर खुसी मनाए । अन्ततः विभाजन भयो ।
तर, विभाजनपछि देखिएका केही राजनीतिक दृष्ट रोचक, नाटकीय र अनपेक्षित छन् । ती हुन् नयाँ अवतारमा देखिएको 'तेस्रो धार' को चलाखीपूर्ण (अ)राजनीतिक कदम । जो विगतमा विघटनविरुद्ध कुर्ले, ओलीविरुद्ध उर्ले र चर्को भाषण गरे, उनीहरूनै अन्तिममा लत्रिए । ओली सामू आत्मसर्मपण गरे । युद्धमा सामेल लडाकूलाई बाटोमै छोडेर उनीहरूले हतियार बिसाए । विना कुनै राजनीतिक सहमति विलीन भए ।
प्रस्तावित नेकपा समाजवादीका नेता खिमलाल देवकोटाको प्रश्न छ, ‘प्रतिनिधि सभा पुनःस्थापनालाई दुर्भाग्य र ऐतिहासिक भन्नेहरूको मिलनबिन्दु कहाँनिर हो ?’ कि प्रतिनिधि सभा पुनःस्थापना ऐतिहासिक उपलब्धी ठान्नेले ऐतिहासिक भूल भयो भन्नुपर्यो ? होइन भने निश्चित छ विपरीत ध्रुवका यी दुई धार सँगसँगै रहन सक्दैनन् ।
‘नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भीम रावल-घनश्यामलगायतका कथित तेस्रो धारका नेताले प्रतिनिधि सभा पुनःस्थापनालाई महान र ऐतिहासिक भनेका छन्, देवकोटाको तर्क छ, ‘प्रतिनिधि सभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरूको थियो/छ । अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलब्धी ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरीत ध्रुवका यी दुई धार सँगसँगै जानसक्लान ? निश्चित छ । सक्दैनन । ऐतिहासिक उपलब्धी ठान्नेले ऐतिहासिक भूल भयो भन्नै पर्दछ ।’ उसो त देवकोटाले भनेजस्तै असहमतिका बुँदा अरु पनि छन् । पहिला विचारमा सहमति/एकरूपता नभएसम्म भागवण्डामै मिलेको तेस्रो धार कति समय रहला ?
कुनै पनि पार्टी विभाजन हुनु दुखद हो । यसले आम नेपाली कसैलाई पनि फाइदा गर्दैन । कुनै दल वा व्यक्तिलाई हुने क्षणिक लाभले मुलुक र जनतालाई दीर्घकालीन हानी पुर्याउँछ ।
तर, यहाँ कुरो विभाजन वा एकताको मात्रै होइन । उनीहरूले प्राप्त गरेको उपलब्धी के हो ? उनीहरूबीचको राजनीतिक सहमति के हो ? प्रतिनिधि सभा विघटन वा पुनःस्थापनालाई हेर्ने दृष्टिकाण फेरियो ? प्रतिगमन सच्चियो ? विघटन असंवैधानिक थियो कि बाध्यता ? भीम रावल-घनश्यामलगायतले जनतालाई जवाफ दिनुपर्छ । विगतमा गरिएको संघर्ष र शक्ति प्रदर्शन के का लागि ? उनीहरू आफैले उत्तर खोज्नुपर्छ । विगतमा गरिएका भाषण र दिइएका अभिव्यक्तिका आर्काइभ हेर्ने, सुन्ने र पढ्ने हिम्मत गर्नुपर्छ ।
१० बुँदे जुन देखाएर उनीहरू फर्किए । संविधानमाथिको जालसाजीमार्फत गरिएको असंवैधानिक त्रुटि ? असंवैधानिक कदम ? प्रतिगमनको मतियार को थियो ? के त्यो सच्चिसक्यो ? कि विघटनलाई प्रतिगमन भन्नु गलत थियो भनेर आत्मालोचना गर्दै पुनःस्थापना गर्ने सर्वोच्चको आदेशविरुद्ध भण्डाफोर अभियानमा लाग्नुपर्यो ।
होइन भने राजनीतिमा कुनै नैतिकता हुँदैन ? खेलमा सहभागी भएपछि बिचमै भाग्न पाइन्छ ? कथित तेस्रो धार मात्रै एमालेमा समाहित भएर विभाजन रोकिन्छ ? एमाले विभाजन रोक्ने उनीहरूको जिम्मेवारी होइन ? उनीहरूले विभाजन रोक्न किन सकेनन् ? अहिलेसम्म भन्दै आएको प्रतिगमन बालकोटको एकै भेटमा कसरी सच्चियो ! कि तेस्रो धार त्यसै थच्चियो ? जवाफ दिनुपर्दैन ?

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया